सर्लाहीमा विकास बजेट ८६ दशमलव ३४ प्रतिशत मात्रै खर्च

457 Shares

सर्लाहीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा ८६ दशमलव ३४ प्रतिशत पूँजीगत (विकास) बजेट खर्च भएको छ ।आर्थिक वर्ष सकिन डेढ साता मात्र बाँकी रहँदा सर्लाहीमा विकास बजेटको खर्च अत्यन्तै न्यून देखिएको छ।चालु आर्थिक वर्षको साउन देखि असार महिनाको २५ गतेसम्म जिल्लाका विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूले जम्मा ८६ दशमलव ३४ प्रतिशत मात्र विकास बजेट खर्च गरेका कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख एवम प्रमुख काेष नियन्त्रक पुष्प प्रसाद गुरागाईले जानकारी दिए ।
उनका अनुसार सर्लाहीको कुल पुँजीगत (विकास) बजेट रू पाँच अर्ब १६ करोड ७४ लाख ९० हजार मध्ये चार अर्ब ४६ करोड १८ लाख ९५ हजार पाँच सय सात रुपैयाँ ८४ पैसा मात्रै खर्च भएको छ।
संघीय सरकार मातहतका अधिकांश विकास निर्माण कार्यालयहरू बजेट खर्चमा पछि परेका छन्।सबैभन्दा धेरै बजेट पाएको कमला ढल्केवर पथलैया सडक योजना लालबन्दी कार्यालयले रु तीन अर्ब २३ करोड ८३ लाख २० हजार बजेट मध्ये जम्मा दुई अर्ब ९४ करोड ६१ लाख ३३ हजार चार सय ८१ रुपैयाँ ९१ पैसा मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै, रु ६७ करोड ४० लाख बजेट पाएको रेल योजना कार्यालय लालबन्दीले रु ५५ करोड ७९ लाख २८ हजार नौ सय १९,रु ६६ करोड ४८ लाख ७० हजार बजेट पाएको बागमती सिँचाई आयोजना कर्मैयाले रु ६४ करोड सात लाख २४ हजार  र रु २३ करोड १८ लाख ८० हजार  बजेट पाएको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय हरिपुरले रु आठ करोड २३ लाख १८ हजार दुई सय ६९ रुपैया पाँच पैसा मात्रै खर्च गरेका कार्यालयले जनाएको छ ।सर्लाहीको चालु बजेट रु १३ अर्ब ६४ करोड ६५ लाख तीन हजार चार सय १७ मध्ये ९५ दशमलव १७ प्रतिशत मात्रै खर्च भएको कार्यालयले जनाएको छ। विकासतर्फ ७० करोड ५५ लाख ९४ हजार चार सय ९२ रुपैंया खर्च हुन नसकेर सरकारी खातामै फिर्ता भएको छ ।सामान्यतया चालु बजेट कर्मचारीको तलबभत्ता र स्थानीय तहलाई अनुदान दिन खर्च गरिन्छ।
पूँजिगततर्फ भएको कुल चार अर्ब ४६ करोड १८ लाख ९५ हजार पाँच सय सात रुपैयाँ ८४ पैसा मध्ये कार्यालयहरुले असारमा मात्रै १ अर्ब २७ करोड १७ लाख ७४ हजार एक सय ८३ रुपैंया खर्च गरेका छन्।चालू आर्थिक वर्षभरि छुट्टयाईएको कुल बजेटको २८ दशमलव ५० प्रतिशत भन्दा बढी बजेट असारको २५ दिनमा गरिएको छ ।त्यस्तै चालूतर्फ १२ अर्ब ९८ करोड ८० लाख १२ हजार ती सय १४ रुपैंया आठ पैसा मध्ये असारमा १ अर्ब ९५ करोड ८८ लाख ११ हजार चार सय ३८ रुपैंया ९९ पैसा खर्च भएको छ । यो खर्च संघीय सरकार अन्तर्गतका कार्यालय तथा पालिकाहरुमा संघीय सरकारबाट प्राप्त चालू तथा पूँजीगत बजेट हो ।पालिकाहरुलाई प्रदेश सरकारबाट प्राप्त भएको बजेट,मालपोत लगायत राजश्व बाँडफाँडबाट प्राप्त हुने सहित अन्य आन्तरिक आम्दानी र खर्च भने कोष तथा लेखा नियन्त्रक कार्यालयमा नदेखिने कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख एवम प्रमुख कोष नियन्त्रक गुरागाईले बताए ।
कतिपय कार्यालयको रकमान्तर भएर आएको बजेट ढिलो प्राप्त हुँदा समयमा खर्च हुन सकेको छैन।असार ३२ गतेसम्म हुने चालु आर्थिक वर्षमा सरकारी कार्यालयहरूले असार २५ गतेसम्म मात्रै भुक्तानी गर्न पाउने कानुनी व्यवस्था रहेको उनको भनाइ छ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ अनुसार असार महिनामा भुक्तानी हुनुपर्ने खर्च कम्तीमा सात दिनअघि नै गर्नुपर्ने व्यवस्था छ।उनका अनुसार हालको अवस्था हेर्दा जिल्लामा ८७  देखि ९० प्रतिशतसम्म मात्रै विकास बजेट खर्च हुने अनुमान छ। 

सम्बन्धित समाचार