सर्लाहीको लालबन्दी नगरपालिका १, नवलपुरमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ भाे अरु दुई जना घाइते भएका छन् । भुस लाेड गर्न आएकाे ना. ६ ख ७५५० नम्वरको ट्रकलाई ११ हजार भोल्टको तार पन्छाउने क्रममा ट्रकमा सवार मजदुरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सराेज राईले जानकारी दिए । उनका अनुसार ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट प्रवाह भएर रौतहटको बृन्दाबन नगरपालिका ७ बस्ने ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हाे ।
ट्रकका सहचालक रहेका पासवानलाई उपचारका लागि तत्कालै नमूना अस्पताल हरिवन लैजाँदा चिकित्सकले मृत घोषणा गरेका सर्लाही प्रहरीले जनाएको छ । पासवानले ११ हजार भोल्टको तार छुन पुग्दा ट्रकमै करेन्ट प्रवाह भएर ट्रकमा कार्यरत मजदुर राैतहट कै बृन्दाबन नगरपालिका ७ का २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान घाइते भएका छन् ।
घाइते पासवान द्वयको नमूना अस्पताल हरिवनमा उपचार भईहेको सर्लाही प्रहरीले जनाएको छ ।ट्रक चालक पर्साको वीरगन्ज महानगरपालिका ३०, का ३९ वर्षीय शेख लाल महम्मद भने सकुसल रहेका छन्।