पछिल्लो समय मधेश प्रदेशका साथै देशैभरी मापदण्ड विपरीत पशु चौपायाको ढुवानी हुने गरेको पाइएको छ।पशु चौपाया ढुवानीलाई व्यवस्थित बनाउन सरकारले पशु ढुवानी मापदण्ड बनाएपनि पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको पाइएको हो।पशु ढुवानी मापदण्ड अनुसार ढुवानी गर्दा हलचल गर्न सकिने,चोट नलाग्ने,अत्यधिक चिसो वा तातोबाट बचाउने,आपसमा ठोक्किएर अगंभगं नहुने गरी सावधानी पूर्वक ढुवानी गर्नु पर्नेछ।साथै,आन्तरिक रुपमा ढुवानी हुने पशुको हकमा गोठालासंगै निर्दिष्ट ढाँचाको पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाण पत्र हुनु पर्ने भनिएपनि मापदण्ड विपरीत पशु चौपायाको ढुवानी हुँदा सरोकारवाला निकाय मौन देखिएका छन् ।
ढुवानी गर्ने गाडीमा पशुलाई अस्वाभाविक रुपमा शरीर,नाके डोरी,पुच्छर वा खुट्टा बाध्न नपाइने तथा शारिरीक बनोट फरक हुने विभिन्न जातका पशुलाई एउटै गाडीमा राखेर ढुवानी गर्न नपाइने मापदण्डमा उल्लेख गरिएको भएपनि पशु चौपाया ढुवानीकर्ताले मापदण्ड विपरीत ढुवानी गर्ने गरेको पशु सेवा विभागका महानिर्देशक विमल कुमार निर्मलले बताए।उनका अनुसार मापदण्ड विपरीत पशु चौपाया ढुवानी गरे १० वर्ष सम्म जेल सजायँ हुने कानूनी व्यवस्था रहेको छ ।
पीडादायी एवम अमानविय ढङ्गबाट पशु चौपायको ढुवानी हुने गरेको गुनासाहरु आउने गरेका र स्वास्थ्य प्रमाण पत्र विना नै ओसार पसार,भेटेरिनरी प्रमाण पत्रको आधिकारिकता तथा आन्तरिक पशु क्वारेन्टाइन चेकपोष्टमा दरपीठ नहुने गरेका अनुगमनका क्रममा देखिएको विभागका महानिर्देशक निर्मलले बताए ।
आयातकर्तालाई कारबाही र जरिवाना लगाएर मात्र पशु चौपाया ढुवानी व्यवस्थित नहुने पशु अधिकारकर्मीहरुको भनाई छ ।सरकारकै कमजोरीका कारण पशु ढुवानी मापदण्ड प्रभावकारी रुपमा लागू नहुँदा समस्या भएको उनीहरुले बताए ।ढुवानी मापदण्ड पूर्ण रुपमा कार्यान्वयनका लागि स्थानीय तहको समन्वयमा अगाडि बढ्नुपर्नेमा पशु अधिकारकर्मीहरुको जोड छ ।
आगामी दिनमा चौपाया ढुवानीलाई व्यवस्थित बनाउन संविधान अनुसार कानून तर्जुमा, संशोधन तथा पशु कल्याण ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ । जनचेतनामूलक कार्यक्रम,सम्बन्धित व्यवसायीका लागि तालिम र पशु ढुवानीका लागि छुट्टै ढुवानी साधन लगायतको व्यवस्था गरी यसलाई व्यवस्थित बनाउन विभाग लागि परेको विभागले जनाएको छ ।
पशु सेवा ऐन र नियमावली अनुसार ११ बुँदे पशु ढुवानी मापदण्ड सरकारले जारी गरेको भएपनि ठेकेदारहरुले कुनैपनि मापदण्डको पालना नगरी प्रहरी प्रशासनलाई आर्थिक प्रलोभनमा पारी काम गर्दे आएका स्थानीय बताउँछन् ।
पशु ढुवानी गर्ने गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्ने,शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी गर्न नपाइने,राँगा भैँसीसँग पाडा पाडी मिसाउन नहुने,सबै राँगा भैँसी, खसी बोकाको टाउको र मुख गाडीको अगाडि पट्टि चालकतर्फ फर्केको हुनुपर्ने,नाक र पुच्छर बाँध्न नपाइने,राँगा भैँसी,बोका खसी राख्ने गाडीमा छ इन्च बाक्लो पराल,भुस या सोत्तर राख्नुपर्ने पशुचौपाया ढुवानी मापदण्डमा उल्लेख छ ।
पशुलाई गाडीभित्र शून्य दशमलव ८४ देखि एक दशमलव २७ वर्गमिटर स्थान उपलब्ध हुनुपर्ने र एउटा ट्रकमा २० पशु राख्न मिल्ने,पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी हिँडाउन नपाइने र गाडीमा घाँस पराल र दाना राखेको हुनुपर्ने भएपनि केही दिन पहिला कमलामाई मिडिया प्रा.लि.ले पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको कर्मैयामा खिचेको तस्वीरमा सो कुरा पुरा नभएको पाइएको छ ।
धनुषा,सर्लाही,बारा,पर्सा,बर्दिया र कैलालीदेखि चितवन हुँदै दैनिक करिब ३० गाडीसम्म राँगाभैँसी काठमाडौँ भित्रने गरेका भएपनि सरोकारवाला निकाय कमिसनमा मस्त हुँदा पशु चौपाय ढुवानी सम्बन्धी मापदण्ड कागज मै सिमित भएको छ ।
के छ प्रावधान ?
पशु स्वास्थ्य तथा पशु सेवा ऐन,२०५५ र पशु स्वास्थ्य तथा पशु सेवा नियमावली,२०५६,पशु वधशाला र मासु जाँच ऐन,२०५५ र पशु वधशाला र मासु जाँच नियमावली,२०५७ विद्यमान रहेका देखिन्छन् भने यसको अतिरिक्त माछा भुराबारे मापदण्ड,२०६१,पशु ढुवानी मापदण्ड, २०६४,पशु क्वारेन्टाइन (पहिलो संशोधन) कार्यविधि,२०७१ र पशु कल्याण निर्देशिका,२०७३ पनि विद्यमान रहेका छन् ।
मुलुकी (अपराध संहिता) ऐन,२०७४ को परिच्छेद २७ मा पनि पशुपंक्षी सम्बन्धी कसुर सम्बन्धी व्यवस्था,राष्ट्रिय निकुञ्जन तथा वन्यजन्तु संरक्षण ऐन,२०४९,वन ऐन,२०४९, वातावरण संरक्षण ऐन,२०५३ लगायतका ऐनहरू र सो सम्बन्धी विभिन्न ऐन,नियमावलीहरू पशु स्वास्थ्य तथा पशु सेवा ऐन,२०५५,पशु स्वास्थ्य तथा पशु सेवा नियमावली,२०५६,पशु वधशाला र मासु जाँच ऐन,२०५५,पशु कल्याण ऐन,२०५५ लगायतका प्रावधानहरु रहेका भएपनि त्यसको कुनै पक्षले पालना नगरेको पाइएको छ ।
पुरानो मुलुकी ऐन (बाहौ संशोधन) २०६४ मा फौजदारी कानून,भाग–४,महल–७ मा चौपायाको महल भनि दफा १ देखि दफा १९ सम्म कानूनी व्यवस्था गरेको छ ।मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन,२०७४ मध्ये मुलुकी अपराध संहिता २०७४ को भाग २ फौजदारी कसुरहरु परिच्छेद २७ मा पशुपक्षी सम्बन्धी कसुरको व्यवस्था गरिएको छ ।
मुलुकी अपराध सहिता २०७४ को परिच्छेद–२६ मा पशुपक्षी सम्बन्धी कसुर दफा २८९ देखि दफा २९२ सम्मको कानूनी व्यवस्था छ।जहाँ जो कसैले पनि गाई गोरुलाई मार्न,चोट पुरयाउने नियतले कुनै काम गर्न गराउन हुदैन। यदी त्यस्तो कसुर गरेमा गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ भने गाई वा गोरुलाई कुटी अङ्ग भङ्ग पारेमा छ महिना कैद र अन्य चोट पुरयाएमा रु ५० हजार जरिवाना हुने व्यवस्था छ ।
पशु पक्षीलाई कुटने,हिर्काउने वा बोक्न सक्ने क्षमता भन्दा बढी भारी बोकाउने वा सामथ्र्य भन्दा बढी दौडाई वा रोग,घाउ,खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएको पशुपक्षीलाई काममा लगाई वा हानी कारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न हुदैन यदी त्यसो गरेमा कसूर गर्ने वा गराउनेलाई तीन महिनासम्म कैद वा रु पाँच हजारसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।