सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ कामदमा घर भत्किएर किच्दा एक बालकको मृत्यु भएको छ। चन्द्रनगर गाउँपालिका ६ कामद् स्थित रहेको पुरानो मान्छे बस्न छाडेको नवीन सिंहको घर भत्किँदा कामद गाउँका गौतम माझीका अन्दाजी वर्ष छ का छोरा अरुण माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । लामो समयदेखि मानिस बस्न छाडेको उक्त घरमा गाउँका बालबालिका जम्मा भएर खेल्ने गरेका थिए । बालबालिका खेलिरहेकै बेला माटो र इँटा जोडेर बनाइएको घर भत्किदा किचिएर माझीको ज्यान गएको हो ।मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।
त्यसैगरी,बागमती नगरपालिका ४ र १२ स्थित बागमती माछा पोखरी(भरत ताल)मा डुबेको अवस्थामा एक किशोरीको शव फेला परेको छ । सर्लाहीकाे बलरा नगरपालिका ४ बलरागाेठ की १९ वर्षिय विकु कुमारी सहनीकाे शव बागमती नगरपालिका ४ र १२ स्थित बागमती माछा पोखरी(भरत ताल)मा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तालमा खस्नुअघि “बचाऊ”भनेर चिच्याएको आवाज आएपछि ताल परिसरमा व्यवसाय गर्ने र घुम्न गएका मानिस घटनास्थल नजिकै पुगेका भएपनि किशोरीलाई सकुशल बाहिर निकाल्न नसकेका प्रहरीले जनाएको छ ।तालको पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेकी सहनीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।