सर्लाहीको चुरेक्षेत्रमा यातायात ठप्प,स्थानीयलाई सास्ती

350 Shares

साउनको दोस्रोबाट वर्षा सुरु भएपछि सर्लाहीको चुरेक्षेत्रमा यातायात सञ्चालन ठप्प भएको छ ।साउनको दोस्रो साता सम्म पानी नपरेको भएपनि अचानक साउनको दोस्रो साताबाट अविरल वर्षा सुरु भएपछि सर्लाहीको चुरे क्षेत्रमा यातायात सञ्चालन ठप्प हुँदा स्थानीय समस्यामा परेका छन् ।बैकल्पीक सडक नपुगेको चुरेक्षेत्रका विकट बस्तीमा बाढी आएर खोलाबाट गाडी चल्न छाडेपछि जनजीवन कष्टकर बन्न थालेको लालबन्दी नगरपालिका १४ का वडा अध्यक्ष छेनाम सिंह घिसिङ्ले जानकारी दिए ।
उनका अनुसार मधेशको कर्णाली भनेर चिनिने सर्लाहीको लालबन्दी नगरपालिका १४, नारायण खोलामा बस चल्न छाडेको एक महिना भन्दा बढी भइसकेको छ ।लखन्देही र डाइनी खोलामा बाढी नआएको समयमा खोलाको बगरबाट मुस्किलले ट्याक्टर सञ्चालन हुने गरेको भएपनि खोलामा बाढी आएको समयमा कुनैपनि सवारी साधनहरु सञ्चालन नहुँदा लालबन्दी नगरपालिका १४, नारायण खोलाबासी समस्यामा परेका लालबन्दी नगरपालिका १४ का वडा अध्यक्ष घिसिङ्ले बताए ।कुनै पनि सवारी साधन सञ्चालन नहुँदा सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकासँग सीमा जोडिएको नारायणखोलाबाट बिरामी र गर्भवतीलाई दुई÷तीन घण्टा झोलुङ्गोमा हालेर गाडी चल्ने ठाउँ पत्थरकोटसम्म ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयले बताए ।
चुरेक्षेत्रमा वर्षायामभर वर्षेनि यस्तै समस्या दोहोरिने गरेको भएपनि सरोकारवाला निकायको नजर नपुगेको स्थानीयको आरोप छ ।
भौगोलिक हिसाबले विकट र चुरेपाखामा मात्रै बस्ती रहेको नारायणखोलामा सडक ट्रयाक खोलिए पनि सफल हुन नसकेको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए।बाढी आउन थालेपछि लालबन्दी नगरपालिका १५ को शिर कालीन्जोर,कालिन्जोर,फूलजोर र बाँके खोला,भित्री खोला तथा ईश्वरपुर नगरपालिका १२ को पिपलदमार क्षेत्रमा सञ्चालन हुने बस,बोलेरो र ट्याक्टर पनि ठप्प हुँदा स्थानीयलाई निकै समस्या भएको छ ।

सम्बन्धित समाचार