सरकारले उखुको अनुदान रकम कटौति गरेको भन्दै उखु उत्पादक किसानहरु आन्दोलीत भएका छन् ।देशभरका उखु उत्पादक किसानहरुले अनुदान कटौतिको विरोधमा आ–आफ्नो जिल्लाका उखु मिल अगाडि शान्तीपुर्ण रुपमा नारा लगाउँदै टायर वालेर आन्दोलनको सुरुवात गरेका केन्द्रीय उखु संघर्ष समितिका सह संयोजक राजकुमार उप्रेतीले जानकारी दिए ।उनका अनुसार देशभरमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा तीनवटै चिनी मिल अगाडि उखु उत्पादक किसानहरुले प्रदर्शन गरेका हुन् ।
अनुदान माग्दै उखु उत्पादक किसानहरुद्वारा गरिएको प्रदर्शनमा सरकारले निर्णय गरे बमोजिम प्रतिक्विन्टल रु ७० का दरले हुन आउने रु एक अर्ब ६० करोड तुरुन्त भुक्तानी गर्न र उखुको मुल्य निर्धारण गर्दा उखु किसानहरुका प्रतिनिधि,सरकारका प्रतिनिधि र चिनी उद्योगबिच वार्ता गराउन माग राखेका केन्द्रीय उखु संघर्ष समितिका संयोजक श्याम बाबु राय यादवले बताए ।
सरकारले गत वर्षको अनुदान बापत प्रदान गर्नुपर्ने प्रतिक्विन्टल रु ७० को सट्टामा प्रतिक्विन्टल रु ३५ मात्रै दिने बताएपछि त्यो आफुहरुलाई मान्य नहुने भएकाले आफुहरुलेआन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको र साउन महिना भरीमा आफुहरुमा माग सम्बोधन नभए भदौ ८ गते संघीय राजधानी काठमाण्डौँमा गएर आन्दोलन गर्ने केन्द्रीय उखु संघर्ष समितिका संयोजक श्याम बाबु राय यादवले बताए ।
उखुको अनुदानलाई निरन्तरता दिन माग गर्दै प्रधानमन्त्री,कृषि मन्त्री तथा प्रमुख जिल्ला अधिकारीहरुलाई भेटेर भद्र ढङ्गले ज्ञापन पत्र बुझाएका उनीहरुले उखुको अनुदान रकमलाई कटौति गरे किसानहरुले उखु खेती छाड्दै जाने र चिनी मिल बन्द हुने अवस्था सृजना हुने भन्दै उखु उत्पादक किसानहरुले चिन्ता व्यक्त गरेका छन् ।
सोही क्रममा सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवन,अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह अगाडि उखु उत्पादक किसानहरुले टायर बालेर प्रदर्शन गरेका नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।उनका अनुसार २०६६ सालमा उखु उत्पादक किसानहरुले कडा आन्दोलन गरेपछि सरकारले प्रदान गर्न थालेको उखुको अनुदान रकमलाई निरन्तरता दिन र गत वर्ष बिक्री गरिएको उखुको अनुदान रकम भुक्तानी गर्न माग गरेका हुन ।