मधेश प्रदेशका आठै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखहरुको बैठक बर्दिवासमा सम्पन्न भएको छ ।मधेश प्रदेशको सप्तरीदेखि पर्सा सम्मका आठै जिल्लाका प्रमुखहरुको बैठकले नेपालको संविधानको धारा २२०,स्थानीय सरकार संचालन ऐन,२०७४,संघ,प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ लगायतका प्रचलित कानून बमोजिम जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालयहरु, नगरपालिका÷गाउँपालिका,निजी क्षेत्र तथा गैर सरकारी संघ÷संस्था बीच समन्वय गर्न र उक्त निकायहरुबाट गरिने विकास निर्माण कार्यहरुको प्रभावकारी अनुगमन गरी गुणस्तर सुनिश्चित गर्ने कार्यमा जिल्ला समन्वय समिति लागि रहेको उल्लेख गरिएको छ ।
प्रदेशमा संचालित सरकारी तथा गैर सरकारी विकास कार्यक्रमहरुबाट लक्षित प्रतिफल प्राप्त हुने गरी कानून बमोजिम कार्य सम्पादन गर्नु अहिलेको आवश्यकता छ।खर्चको मितव्ययिता आर्थिक सुशासन र रुपान्तरणकारी आयोजनाबाट मात्र सार्वजनिक खर्चको नतिजा प्राप्त भई प्रदेशको विकास निर्माणले गति लिने र विकासको लाभ जनस्तरमा पुग्न सक्दछ।यसका लागि सबै सरकारी निकाय,नागरिक समाज,जनप्रतिनिधि र आम उपभोक्ता सबैको साझा जिम्मेवारी रहेको समेत जिल्ला समन्वय समितिका प्रमुखहरुको बैठकले निष्कर्ष निकालेको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले जानकारी दिए ।
उनका अनुसार प्रदेशमा संचालन हुने र प्रतिस्पर्धा मार्फत ठेक्का लगाई कार्य सम्पन्न गर्नु पर्ने आयोजनाहरुलाई टुक्रा गरी नियतवश प्रतिस्पर्धा बेगर उपभोक्ता समितिबाट कार्य सम्पन्न गर्ने जस्ता विकृत अभ्यासहरु रोक्न तथा जटिल प्रकृतिको प्राविधिक ज्ञान र विशेष प्रविधि अपनाउनु पर्ने उपभोक्ता समितिबाट गर्न नहुने आयोजना समेत कार्यान्वयन उपभोक्ता समितिबाट हुने गरेको बुझिएको बैठकले निचोड निकालेको छ ।
कानूनले तोकेको जिम्मेवारी र जवाफदेहिता पालन नगरी राज्यको सम्पतिको हानि–नोक्सानी लगायतका विषयमा सूचना प्राप्त भएमा वा अनुगमन गर्दा कैफियत देखिएमा सम्बन्धित निकाय र पदाधिकारी जवाफदेहि हुने व्यवस्था रहेकोले यस्ता कार्य नगर्न नगराउन पनि मधेश प्रदेशका जिल्ला समन्वय समितिका सभापतिहरुले आग्रह गरेका छन् ।
बैठकमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख सिंह, जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामअयोध्या राय यादव,जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साह,जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद सा सोनार, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन कुमार लाल कर्ण, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राज नन्दन मण्डल, जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो र जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको उपस्थिति रहेको थियो ।