जिल्ला प्रशासन कार्यालय सर्लाही आईतबारबाट आफ्नै नयाँ भवनमा सरेको छ।जिल्ला विकास समितिको जग्गामा निर्माण भएको पुर्वाधार विकास कार्यालयको भवनबाट सेवा प्रवाह गरी रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार(आज)बाट पुर्ण रुपमा आफ्नै भवनबाट सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए।उनका अनुसार आफ्नै भवनमा कार्यालय सर्ने भएकाले सबै सामाग्रीहरु मिलाउनु पर्ने भएकाले आईतबार आफ्ना सबै सेवा बन्द गरेको र सोमबार(आज)बाट सबै सेवा पुन सुचारु भएको छ ।
नवनिर्मित भवनबाट केही समयअघि देखि नै राष्ट्रिय परिचय पत्रको काम हुँदै आएकोमा अब जिल्ला प्रशासन कार्यालय सर्लाहीले प्रवाह गर्ने सबै प्रकारका सोवहरु आफ्नै नव निर्मित भवनबाट प्रवाह हुने सहायक प्रमुख जिल्ला अधिकारी शिव हरि पोखरेलले बताए ।उनका अनुसार नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न शुक्रबारदेखि नै कागजात र अन्य सामग्री सार्ने काम भएको थियो।आफ्नो भवन नहुँदा साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपर्दा सेवाग्राहीहरु र सेवा प्रदायक सबैलाई समस्या भएको भएपनि अब आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न पाउँदा सेवाग्राही र सेवा प्रदायक सबैलाई सहज हुने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।