मधेस प्रदेशका आठ जिल्लामा चालु सिजनको हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ। मधेश प्रदेशको सप्तरी,सिरहा,धनुषा,महोत्तरी,सर्लाही,रौतहट,बारा र पर्सा मध्य सबैभन्दा धेरै बारामा ९५ प्रतिशत धान रोपाईँ भएको कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले जानकारी दिए ।
उनका अनुसार आठ वटा जिल्लामा तीन लाख ७२ हजार छ सय ४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा धान रोपाईँ भएको र प्रदेशमा सबैभन्दा कम महोत्तरीमा ६१ दशमलव ५ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको छ ।
चालु सिजनमा पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट रोपाइँ भएको मधेश प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार सप्तरीमा कोशी,सर्लाही र रौतहटमा बागमती तथा बारा र पर्सामा गण्डक नहरबाट किसानहरुले सिँचाइ गरेर धान रोप्दा केही सहजता भएको भएपनि धनुषामा कमला नदी सुक्दा समस्या भएको हो । यस वर्ष प्रदेशमा अधिकतम ८० प्रतिशतसम्म रोपाइँ हुने निर्देशनालयले अनुमान गरेको छ । ढिलो रोपाइँका कारण धान उत्पादन पनि घट्ने अनुमान गरिएको निर्देशक यादवले बताए ।
सुक्खा र खडेरी प्रभावित क्षेत्रका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सरकारले किसानहरुलाई तत्काल राहत दिने घोषणा गरेपछि प्रदेशभरका २२ हजार ५२ किसानहरुले आवेदन दिएका मधेश प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.उमेश दाहालले बताए ।सिँचाइ व्यवस्थापन सहयोगका लागि संघीय सरकारको निर्णयको पर्खाइमा मधेस प्रदेश सरकार रहेको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए।उनले प्रदेश सरकारले किसानहरुलाई सो सहयोगका लागि रु १८ करोड बजेट विनियोजन गरेपनि पर्याप्त छैन् ।