सर्लाहीको हरिपुर नगरपालिकाले कृष्ण जन्माष्टमीको अवसरमा आइतबार नगर भित्र सार्वजनिक बिदा दिएको छ।हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पंजियारले शुक्रबार एक सूचना जारी गर्दै कृष्ण जन्माष्टमीको अवसरमा आइतबार पनि नगरभित्र सार्वजनिक बिदा दिइएको जानकारी दिए ।
उनका अनुसार कृष्ण जन्माष्टमी पर्व शनिबार(आज)मनाइँदै छ ।कृष्णाष्टमीको अवसरमा नगरका विभिन्न स्थानमा मेला लाग्ने भएकाले आइतबार थप एक दिन बिदा दिने निर्णय भएको नगर प्रमुख पजियारले बताए।हरिपुर नगरपालिकाका सबै वडा कार्यालयहरु,शैक्षिक संस्थाहरु तथा आकस्मिक बाहेक स्वास्थ्य संस्थाहरु लगायत नगरपालिका मातहतका सम्पूर्ण कार्यालय आईतबार पनि बन्द रहने छन्।
सर्लाहीमा कृष्ण जन्माष्टमी पर्व धुमधामसँग मनाउने तयारी भई रहेको साथै विवाद हुन सक्ने स्थानहरुमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला स्तरिय सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए ।उनका अनुसार सर्लाहीमा विगतलाई हेरेर सुरक्षा सर्तकतामा कुनै कसर बाँकी नराख्ने तयारी भई रहेको छ ।