११० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

195 Shares

लालबन्दी जेसीजले जेसीज सप्ताह–२०२५ अन्तर्गत गरेको निःशुल्क स्वास्थ्य शिविरमा  एक सय १० जनाले स्वास्थ्य सेवा लिएका छन् । विभिन्न सामाजिक काम गर्दै आएको लालबन्दी जेसीजले जेसीज सप्ताह–२०२५ अन्र्तगत विभिन्न किसिमका कार्यक्रमहरु गरि रहेकोमा शुक्रबार लालबन्दी नगरपालिका ५ मा रहेको बेतिनी सुन्दरबस्तीमा निःशुल्क स्वास्थ्य शिविर गर्दा एक सय १० जनाले स्वास्थ्य सेवा लिएका लालबन्दी जेसीजका महासचिव कोमल हरि गौतमले जानकारी दिए ।उनका अनुसार लालबन्दी जेसीजले लालबन्दी नगरपाकिला ५  को वडा कार्यालय, आधारभूत स्वास्थ्य सेवा केन्द्र र सिद्धार्थ हेल्थ केयर लालबन्दी नगरपालिका ७ सँग समन्वय गरी बेतिनीस्थित दलित बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
शिविरमा स्वास्थ्य परीक्षण तथा छाला रोगसम्वन्धी उपचार गरिएको लालबन्दी जेसीजका पूर्व अध्यक्ष ठाकुरप्रसाद बख्रेल (मनोज) ले बताए ।उनका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्न आएका स्थानीयलाई स्वास्थ्य समस्या अनुसार औषधी समेत वितरण गरिएको हो ।
जेसीज सप्ताह अन्तर्गत लालबन्दी जेसीजले शुक्रबार नै लालबन्दी नगरपालिका ७ मा रहेको जानकी माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्यायनरत विद्यार्थीहरुलाई लागुऔषध नियन्त्रण तथा न्यूनिकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको लालबन्दी जेसीजकी अध्यक्ष सुनिता खरेलले जानकारी दिईन् ।उनका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीलाई इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीले लागुऔषधको प्रयोग गर्दा हुने हानि नोक्सानी, अपराध र सजायका सम्वन्धमा सचेत गराएका थिए ।

सम्बन्धित समाचार