देशभरका उखु उत्पादक किसान काठमाडौं केन्द्रित,माग पुरा नभए आन्दोलन गर्ने तयारी

440 Shares

उखुको अनुदान रकमलाई निरन्तरता दिन माग गर्दै देशभरका उखु अगुवा किसानहरु संघीय राजधानी काठमाडौं पुगेका छन् ।सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमा उखुको अनुदानका लागि बजेट बिनियोजन नगरेपछि उखु उत्पादक किसानहरु असन्तुष्ट देखिएका छन् ।
उखु उत्पादक किसानहरुले दुई साताअघि आ–आफ्नो जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै साउन महिनाभित्र अनुदान रकमबारे निर्णय गर्न समय दिएका भएपनि सरकराले उखु उत्पादक किसानहरुका मागलाई वेवासथा गरेका कारण आफुहरु थप आन्दोलन गर्न संघीय राजधानी काठमाडौं पुगेको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिल मुनी मैनालीले जानकारी दए ।
उनका अनुसार सरकारले किसानहरुका मागहरुका बारेमा निर्णय गर्न चासो नदेखाएपछि सर्लाही, महोत्तरी, रौतहट, बारा, सिरहा, सुनसरी,नवलपरासी र कञ्चनपुर लगायतका जिल्लाका उखु उत्पादक किसानहरु आन्दोलनको तयारीका लागि संघीय राजधानी काठमाडौंमा भेला भएका हुन् । 
उखु उत्पादक किसानहरुले विभिन्न जिल्लाका जनप्रतिनिधिहरुका साथै चिनी उद्योगका सञ्चालकहरुसहित पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई भेटेर उखु किसानहरुको पीडा सम्वोधनका लागि आग्रह गरेका केन्द्रिय उखु किसान संघर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीले बताए ।उनका अनुसार आफूहरुले प्रधानमन्त्रीलाई नै भेटेर अनुदान रकम कटौतिको विषयमा कुरा राख्न चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय मिलाइदिन एमालेका महासचिव पोखरेलसँग आग्रह गरेका छन् ।
सोमबार(भोलि) प्रधानमन्त्री ओलीसँग भेट हुने सम्भावना रहेको र उहनीसँगको छलफलपछि पनि उखु उत्पादक किसानहरुको माग अनुदान वापतको रकम पाउने अवस्था नरहे भदौ दोस्रो साताबाट काठमाडौंको माइतीघरमा धर्ना सुरु गर्ने तयारी रहेको उखु उत्पादक किसानहरुले बताएका छन्।उनीहरुका अनुसार आन्दोलनका लागि देशभरबाट एक हजार उखु उत्पादक किसानहरु उतार्ने र त्यसको तयारीको विषयमा समेत छलफल अघि बढेको छ् । उखु उत्पादक किसानहरुले आर्थिक वर्ष २०८१/०८२ कै उखुको अनुदान वापतको रकम समेत पाएका छैनन् ।
आर्थिक वर्ष २०८१/०८२ का लागि सरकराले उखु किसानहरुलाई प्रतिक्विन्टल रु ७० का दरले अनुदान रकम प्रदान गर्ने निर्णय गरेको थियो । तर उत्त निर्णयको विपरित अनुदान रकम कटौति भएसँगै उखु उत्पादक किसानहरु आन्दोलीत भएका छन् भने उखु उत्पादन घट्दै जाने सम्भावना बढेको छ ।

सम्बन्धित समाचार