सर्लाही कारागार कार्यालयमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिएको रहस्य बाहिरिएको छ ।एक सय ६० जना पुरुष र ५० जना महिला कैदी राख्ने क्षमता रहेको सर्लाही कारागार कार्यालयमा हाल तीन सय ३३ जना पुरुष,३८ जना महिला र उनीहरुका पाँच जना बालबालिका गरी तीन सय ७७ जना कैदीबन्दी राखिएको निमित्त कारागार प्रशासक असरफ हुसेन गद्धीले जानकारी दिए ।
उनका अनुसार कारागारमा पुरुष कैदीबन्दी कारागारको क्षमता भन्दा एक सय ७७ जना बढी छन्।कारागारको क्षमता भन्दा बढी कैदीबन्दी रहेकाले बस्न र सुत्न समस्या रहेको छ ।कैदीबन्दी बढी भएपछि बरण्डा,सिँढी र पाल टागेर सुताउनुपर्ने अवस्था रहेको निमित्त कारागार प्रशासक हुसेनले बताए ।
महिला कैदीबन्दी कारागारको क्षमता भन्दा कम भएकाले समस्या नरहे पनि पुरुष कैदीबन्दीलाई व्यवस्थापन गर्न असाध्य समस्या पर्न थालेको कारागार प्रशासनले जनाएको छ।सर्लाही जिल्ला कारागारमा सर्लाही सहित रौतहट,महोत्तरी,बारा,सिन्धुली,सिरहा र सप्तरीसहित २० भन्दा बढी जिल्लाका कैदीबन्दीलाई राखिएको छ ।कैदीबन्दी राख्ने ठाउँ कम भएकाले आवासिय समस्या रहेको कारागारका चौकीदार मनोज कुमार चौधरीको गुनासो छ । अरु त समस्या छैन तर ठाउँ साँघुरो भएकाले बस्न र सुत्न सकस रहेको चौकीदार चौधरीले बताए ।
कारागारभित्र कैद भुक्तान गरिरहेका कैदीबन्दीले गलैचाँ बुन्ने,सिलाइ कटाइ गर्ने र मुढा बनाउने काम गरिरहेका छन्। मलंगवा कारागारमा अहिले प्रहरी नायब निरीक्षक (सइ) को नेतृत्वमा प्रहरी खटिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।करिब ११ वर्षपछि सर्लाही जिल्ला कारागार सञ्चालनमा आएपछि सर्लाहीबाट जेल भुक्तान गर्न अदालतको आदेश भएका मानिसहरुलाई अन्यनत्र लैजानु पर्ने समस्या सकिएको भएपनि व्यवस्थापकीय समसया सृजना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
लामो समयदेखि जीर्ण रहेको कारागारमा कैदी बन्दी बस्न नसक्ने वातावरण नभएपछि कारगार भित्रका कैदीलाई २०६९ मा सर्लाही प्रशासनले सिन्धुली,महोत्तरी, सुनसरी र रौतहट लगायतका ठाउँका कारागारमा स्थानान्तरण गरी कारागार भवण निर्माण सुरु गरेको थियो ।लामो समयपछि सञ्चालनमा आएको कारागारमा रौतहट जिल्ला कारागारबाट ३० जना कैदीबन्दी सारेर सर्लाही जिल्ला कारागारमा ल्याएको थियो ।