सर्लाहीको हरिपुर्वा नगरपालिका ६ का अन्दाजी ४० वर्षका रामपुकार यादवको हत्यामा संग्लग्न एकजनाको प्रहरीले विवरण खुलाएको छ ।गत साउन ३० गते यादवलाई गोली हानी फरार हुने क्रममा मोटरसाईकल दुर्घटनामा घाइृते भएका हरिपुर्वा नगरपालिका ५ बस्ने अन्दाजी २६ वर्षीय धीरेन्द्र राय(धर्मेन्द्र) नै बीआर ३० एजी २३५४ नम्बरको मोटरसाइकलमा आएका गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार केही समय पहिला आफनै श्रीमतीको हत्या गरेर फरार भएका धीरेन्द्रले नै रामपुकारको हत्या गरेका हुन ।राम पुकारका छोरा सुमित राय यादवसँगको पुरानो विवादलाई लिएर कुराकानी गर्ने क्रममा मोटरसाइकलको पछाडि बसेका व्यक्तिले आफूसँग भएको पेस्तोलबाट रामपुकारको टाउकोमा गोली प्रहार गरेका रहस्य अनुसन्धानबाट खुलेको सर्लाही प्रहरीले जनाएको छ ।हत्यापछि भाग्ने क्रममा उनीहरू चढेको मोटरसाइकल हरिपुर्वा नगरपालिका ७ बसन्तपुरमा दुर्घटनामा परेको थियो।दुर्घटनामा घाइते भएका चालक धीरेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारपछि उनलाई प्रहरी हिरासतमा राखिएको छ ।गोली लागेर गम्भीर घाइते भएका यादवको महोत्तरीको जानकी हेल्थ केयरमा उपचारका क्रममा सोही राति ९ बजे मृत्यु भएको थियो।प्रहरीले घटनास्थलबाट गोलीको खोका एक थान बरामद गरेको छ ।
अनुसन्धानका क्रममा धीरेन्द्रले मलंगवा नगरपालिका ९ मा डेरा गरी बस्ने गरेको खुलेपछि उनको कोठा खानतलासी गर्दा एक थान नलकटुवा पेस्तोल र अर्को एक थान गोलीको खोका समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।पक्राउ परेका धीरेन्द्रले यसअघि पनि आफ्नैै श्रीमतीको हत्या गरेको आरोपमा फरार अभियुक्त रहेको खुलेको छ । उनले गत वर्ष २०८१ असोज १० गते आफ्नै श्रीमती चित्रलेखा कुमारी यादवको निधारमा गोली हानी हत्या गरेका थिए भने आफ्नै बुवा राम दिनेश रायलाई समेत गोली हानी घाइते बनाएका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।धीरेन्द्रसंग भारतको आधार तथा राशन कार्ड समेत रहेको खुलेको छ ।
उक्त घटनापछि उनका बुवाले कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि उनी फरार रहँदै आएका थिए । प्रहरीले दुवै घटनालाई जोडेर अनुसन्धान गरिरहेको छ । यादवको हत्यामा संलग्न फरार अर्का व्यक्तिको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।