सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा निर्माण भएको १५ शैयाको अत्याधुनिक आधारभूत अस्पताल भदौ अन्तिम सातादेखि सञ्चालनमा ल्याउने तयारी भएको छ । ग्रामीण बस्तीका बासिन्दालाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन करिब १८ महिना लगाएर रु छ करोड ७६ लाख २१ हजार एक सय ३५ रुपैयाँमा निर्माण भएको १५ शैयाको अस्पताल निर्माण भएको गोलन्जोर गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक बिरेन्द्र साहले जानकारी दिए ।
उनका अनुसार निर्माण सम्पन्न भएको अस्पतालका लागि दातृ संस्थाले रु एक करोड बराबरको अत्याधुनिक चिकित्सा उपकरण पनि उपलब्ध गराई सकेको छ।जसमा एक्स–रे मेसिन,प्रयोगशाला उपकरण,अल्ट्रा साउन्ड र बिरामीका लागि आवश्यक जीवन रक्षक सामग्री लगायत रहेका छन् ।
यो अस्पतालको स्थापनाले स्थानीय बासिन्दालाई तत्काल उपचार,नियमित स्वास्थ्य परीक्षणदेखि आपतकालीन सेवा सम्मका सुविधा आफ्नै गाउँमा प्राप्त हुने विश्वास लिईएको गोलन्जोर गाउँपालिकाका उपा अध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले बताए।उनका अनुसार नेपाल सरकारको “एक स्थानीय तह,एक आधारभूत अस्पताल”नीति अन्तर्गत हाल देशभरका गाउँपालिका र नगरपालिका तहमा स्वास्थ्य पूर्वाधार विस्तार भइरहेको र गोलन्जोर गाउँपालिकाले पनि ग्रामीण भेगका नागरिकलाई सहज,सस्तो र गुणस्तरीय उपचार सुविधा दिन अस्पताल सञ्चालनको तयारी गरेको हो ।
गोलन्जोर आधारभूत अस्पताल सञ्चालनमा आएपछि गोलन्जोर गाउँपालिका मात्र नभई आसपासका जिल्लाका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने हजारौं जनताले लाभ लिने गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले बताए।उनका अनुसार अब उपचारका लागि, सिन्धुली सदरमुकाम,हेटौंडा,धरान वा काठमाडौं धाउनुपर्ने अवस्था कम हुने छ ।
गोलन्जोर गाउँपालिका ३ स्थित ग्वाल्टारमा ब्याक टू लाइफ ईभी जर्मनीको आर्थिक सहयोगमा १५ शैयाको अस्पताल निर्माण गरिएको हो।निर्माण कार्यमा समुदाय पद्धति विकास सेवा (सीएसडीएस) सिन्धुलीले प्राविधिक सहयोग पु¥याएको थियो भने एआर्डी कन्स्ट्रक्सनले ठेक्का लिएको गाउँपालिकाले जनाएको छ ।
गोलन्जोर गाउँपालिकाले अस्पताल सञ्चालनका लागि हाल कार्यालय सहयोगी बाहेक ३२ जना विभिन्न तहका कर्मचारीहरुको दरबन्दी स्वीकृत गरिसकेको छ ।प्रारम्भिक चरणमा एक जना एमबीबीएस चिकित्सक,स्टाफ नर्स,प्रयोगशाला प्राविधिक,फार्मेसी सहायक र अन्य आवश्यक स्वास्थ्यकर्मीहरू रहने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।गोलन्जोर मात्र नभई फिक्कल,सुनकोशी,रामेछाप,ओखलढुंगा र खोटाङका सीमावर्ती बासिन्दालाई पनि स्वास्थ्य सेवा प्रदान गर्ने योजना अनुसार निर्माण गरिएको अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सक स्थायी रूपमा रहने गाउँपालिकाले जनाएको छ ।
अस्पताल सञ्चालनलाई प्रभावकारी बनाउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा र गोलन्जोर गाउँपालिकाबीच पाँच वर्षे सहकार्य सम्झौता समेत भई सकेको छ।सम्झौतामा प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवाली र गाउँपालिका अध्यक्ष बरालले हस्ताक्षर गरेका छन् ।