सर्लाहीको बागमती नगरपालिका ५ राजघाट सोल्टीमा रहेको जनता नमुना मा.विले स्थापना गरेको अक्षयकोषमा एकै जनाले स्थापना कै दिन साँढे पाँच लाख बढी सहयोग गरेको छन् । बागमती नगरपालिका ५ राजघाट सोल्टीको जनता मा.विका पुर्व विद्यार्थी एवम त्रिभुवन विश्व विद्यालयमा कार्यरत उपप्राध्यापक डा.यादुराम उप्रेतीले आफ्ना बुबा ज्ञान प्रसाद उप्रेतीको स्मृतिमा विद्यालयको अक्षयकोष स्थापना गरेकै दिन रु पाँच लाख ५५ हजार पाँच सय ५५ रकम सहयोग गरेका विद्यालयका प्रधानाध्यापक लोकनाथ दाहालले जानकारी दिए ।उनका अनुसार उप्रेतीले “ज्ञान प्रसाद उप्रेती स्मृति कोष” स्थापना गरी विद्यालयको उन्नयनका लागि अक्षयकोष स्थापना गरेकै दिन रु पाँच लाख ५५ हजार पाँच सय ५५ रकम सहयोग गरेका हुन।
उपे्रतीको प्रेरणादायी योगदानले विद्यालयमा मात्र नभई समाजलाई शिक्षा र ज्ञानको बाटोमा अघि बढ्न प्रोत्साहन दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलहरी पोखरेल(ध्रुव)ले बताए।उनका अनुसार उक्त स्मृति कोषबाट कक्षा ११ र १२ का उत्कृष्ट विद्यार्थीहरूलाई, विनियमावलीमा तोकिएको मापदण्ड अनुसार पुरस्कृत गरिने छ।जसले विद्यार्थीलाई प्रोत्साहन गर्ने मात्र नभई भविष्यका पुस्तालाई उज्यालो भविष्यतर्फ डोर्याउने विद्यालय प्रशासनले विश्वास लिएको छ ।
त्यसैगरी,बागमती नगरपालिका २ धरहरामा रहेको जनवाल कल्याण मा.विले परीक्षाफल प्रकाशन तथा छात्रवृति वितरण गरेको छ।एसइइमा उत्कृष्ट विद्यार्थी सम्मान र छात्रवृति वितरणका साथै त्रैमासिक परीक्षाफल प्रकाशन गरेको प्रधानाध्यापक प्रकाश बहादुर जिम्वाले जानकारी दिए।उनका अनुसार त्रैमासिक परीक्षामा उत्कृष्ट हुने छात्रछात्राहरूले र गत शैक्षिक सत्रको छात्रा,दलित र सीमान्तकृत विद्यार्थीहरुले पाउने छात्रवृति समेत वितरण गरिएको हो ।
२०८१ को एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने एक जना छात्रालाई नगद रु ११ हजार एक सय ११ र प्रमाण पत्र प्रदान गनुका साथै कक्षा १ देखि ५ सम्म अध्यायनरत एक सय १० जना छात्रछात्राहरूले उक्त छात्रवृति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर बोहराले बताए ।उनका अनुसार आगामी वर्ष देखी एसइइमा ए प्लस ग्रेड प्राप्त गर्ने हरेक विद्यार्थीलाई जनही रु २५ हजार नगद सहित सम्मान गर्ने विद्यालयले घोषणा गरेको छ ।
हरेक वर्ष प्रदान गर्दै आएको रुद्र दीप स्मृति पुरस्कारबाट शैक्षिक वर्ष २०८१ को अन्तिम परीक्षमा विद्यालयमै उत्कृष्ट नतिजा ल्याउन सफल कक्षा ८ की छात्रा निर्भिका तिमलसेना र कक्षा ७ का छात्र रोशन कुमार महतोले जनही नगद १० हजार आठ सयका दरले नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको भने विद्यालयको अक्षय कोषमा रु ५० हजार एक सय आठ जम्मा भएको विद्यालय प्रशासनले जनाएको छ ।
२५ वटा सामुदायिक विद्यालय रहेको बागमतीका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार भएसँगै अभिभावक र विद्यार्थीहरूको समेत आकर्षण बढेको बागमती नगरपालिकाको शिक्षा शाखाका मीन प्रसाद उपाध्यायले बताए।उनका अनुसार बागमती नगरपालिकाको नगर शिक्षा ऐन अनुसार जनप्रतिनिधि र शिक्षक तथा कर्मचारीहरुका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य पढाउनु पर्ने नीतिले विद्यालयको अवस्था सुधारमा ठुलो मद्दत पुगेको छ । बागमतीका सबै सामुदायिक विद्यालहयरुमा अङग्र्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन हुने गरेको छ ।