सर्लाहीको कविलासी नगरपालिकाका नगर प्रमुख र उपप्रमुखले सुविधा र इन्धन खर्चमा कानुन उल्लंघन गरेका पाइएको छ।कविलासी नगरपालिकाका नगर प्रमुख ब्रम्हदेव रायले मासिक सात हजार तीन सय ४० लिटर र उप प्रमुख पुनम कर्णले मासिक दुई हजार तीन सय ६१ लिटर इन्धन खर्च गरेका महालेखा परीक्षकको ६२ औं प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय सरकार सञ्चालन ऐनले नगर प्रमुख र उप प्रमुखलाई मासिक एक हजार पाँच सय लिटर इन्धन पाउने उल्लेख गरेको भए पनि कविलासी नगरपालिकाका नगर प्रमुख राय र उप प्रमुख कर्णले पाँच हजार दुई सय एक लिटर बढी इन्धन खर्च गरेका हुन्।प्रतिवेदन अनुसार कुल पाँच हजार दुई सय एक लिटर इन्धनको रु आठ लाख ५८ हजार एक सय ६५ अतिरिक्त भुक्तानी भएको र उक्त खर्च अनियमितता भएको ठहर गरेको छ।
प्रतिवेदनले यसलाई कानुन उल्लंघन र पारदर्शिताको कमीको भएको भनेको छ । प्रचलित कानुन तथा ऐनमा पदाधिकारीले यातायात भत्ता पाउँदा इन्धन भुक्तानी नपाउन स्पष्ट व्यवस्था छ र कुनै हालतमा दोहोरो सुविधा दिन नपाइने भनिएको छ।तर कविलासी नगरपालिकाले पदाधिकारीलाई यातायात भत्ता पाएको अवस्थामा पनि इन्धन भुक्तानी दिएको देखिएको छ।
प्रतिवेदनमा अनुसार नगर प्रमुख रायले चार हजार तीन सय ४० लिटर इन्धनको रु सात लाख १६ हजार एक सय र उप प्रमुख कर्णले आठ सय ६१ लिटरको रु एक लाख ४२ हजार ६५ गरी कुल पाँच हजार दुई सय एक लिटरको रु आठ लाख ५८ हजार एक सय ६५ रकम अनियमितता भएको हो ।
महालेखा परीक्षकले यस घटनालाई स्थानीय तहमा खर्च व्यवस्थापन र पारदर्शिता सुनिश्चित गर्न सुधारात्मक कदम चाल्नुपर्ने उदाहरणको रूपमा उल्लेख गरेको छ।यस्तो दोहोरो सुविधा र मनपरी इन्धन भुक्तानीले जनताको विश्वासमा असर पुर्याउने भएकाले सार्वजनिक जानकारी, लेखापरीक्षण र निगरानी प्रणाली कडा गर्न आवश्यक रहेको महालेखाले सुझाब दिएको छ। स्थानीय तहका जनप्रतिनिधिहरुले प्रचलित नीयम कानुनलाई लत्याउँदै आफुखुसी गैर कानूनी तरिकाबाट चल्दा पछिल्लो समय धेरै स्थानीय तहहरुका जनप्रतिनिधिहरु अख्तियारको फन्दामा पर्ने गरेका छन् ।