विगत लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलाइएका देशभरका अधिकाशं स्थानीय तहहरुमा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृतहरु खटाईएको छ ।११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीका विभिन्न आठ वटा पालिका लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलाइएका थिए ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ठूलो संख्यामा कर्मचारीहरु सरुवा गरेसँगै सर्लाहीका तीन वटा नगरपालिकामा उप सचिव र पाँच वटा गाउँपालिकामा शाखा अधिकृत खटाईएको हो ।
एक सय २२ जना उप सचिवको सरुवा मध्ये सर्लाहीको ईश्वरपुर नगरपालिकामा जिल्ला समन्वय समितिको कार्यालय दोलखाबाट उप सचिव रामप्रसाद पोखरेललाई सरुवा गरी पठाएपछि नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरि रहेका आयुर्वेद शाखाका डा.पंकजकुमार साहको निमित्त जिम्मेवारी अन्त्य भएको छ ।
बागमती नगरपालिकामा लेखा अधिकृत प्रतीत भण्डारीलाई हटाएर रक्षा मन्त्रालयका उपसचिव इन्द्र गौतम प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका छन् भने बलरा नगरपालिकामा शाखा अधिकृत सुशील कुमार साहको स्थानमा सामान्य प्रशासन मन्त्रालयमै कार्यरत उपसचिव धर्मानन्द जोशी खटाइएका छन् ।
जिल्ला समन्वय समितिको कार्यालय सर्लाहीका उपसचिव कमल बहादुर कार्की महोत्तरीको बलवा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएको छ।त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरबाट होमप्रसाद घिमिरेलाई महोत्तरीको जलेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाईएको छ ।
शाखा अधिकृतको व्यापक सरुवासँगै सर्लाहीका पाँच गाउँपालिकामा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत खटिएका छन्।चन्द्रनगर गाउँपालिकामा धनुषाको धनौजीबाट हरिशंकर यादव,धनकौल गाउँपालिकामा महोत्तरीको मटिहानीबाट चन्द्रशेखर शर्मा,रामनगरमा धनुषाको शहीदनगरबाट उमेश महतो,बम्हपुरी गाउँपालिकामा सिरहाको धनगढीमाईबाट धीरेन्द्र कुमार यादव र कौडेना गाउँपालिकामा रौतहटको बौधिमाईबाट उदयशंकर चौधरी प्रमुख प्रशासकीय अधिकृत बनेर खटिएका छन् ।
यी पालिकामा यसअघि प्राविधिक,स्वास्थ्यकर्मी,लेखाशाखा वा शिक्षा शाखाका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए।मन्त्रालयले अब देशभर कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहेको दाबी गरे पनि सर्लाहीकै हरिपुर नगरपालिका र विष्णु गाउँपालिकामा अझै पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् ।
हरिपुर नगरपालिकामा शाखा अधिकृत विनय पौडेल र विष्णु गाउँपालिकामा स्वास्थ्य शाखाका सञ्जिव सापकोटाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।स्थानीय तहको पुनःसंरचनापछि देशभरका अधिकांश नगरपालिका तथा गाउँपालिकामा पहिलो पटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या न्यून बनाईएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसअघि एक सय पाँच वटा नगरपालिका र ८६ गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरेका थिए ।
अधिकांश स्थानीय तहमा दरबन्दी अनुरुप प्रमुख प्रशासकीय अधिकृत खटाइएकाले पूर्ण जिम्मेवारी सहितको प्रशासनिक नेतृत्व सुनिश्चित भएको सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बताईन् । उनका अनुसार निजामती सेवा ऐन,२०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीबाहेक,मन्त्रालयले पारदर्शिता,कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरिएको छ।दुई वर्षभन्दा बढी मन्त्रालय वा मातहतका निकायमा काम गरेका,उपत्यका केन्द्रित कार्यालयमा सीमित,स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ ।
मन्त्रालयले दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत खटाएको हुँदा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतःरद्द भएको छ ।साथै कर्मचारी सरुवामा हुने बाह्य प्रभाव अन्त्य भएको छ भने चक्रिय सरुवा प्रणाली कार्यान्वयन सहज भएको र सुगम स्थानमा मात्र सेवा गर्ने प्रवृत्ति पनि रोकिने मन्त्री न्यौपानेको विश्वास छ ।दुर्गम क्षेत्रमा सेवाको पहुँच विस्तार,प्रशासनिक न्यायको अनुभूति,सेवा प्रवाहको गति र कार्यकुशलतामा वृद्धि, सुशासन प्रवद्र्धन,जनप्रतिनिधिबाट प्रमुख प्रशासकीय अधिकृतभन्दा व्यक्तिविशेष रोज्ने प्रवृत्ति अन्त्य हुने मन्त्रालयले विश्वास लिएको छ ।सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुने मध्ये नौ वटा उपमहानगरपालिका र एउटा महानगरपालिकामा चाँडै दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।