पछिल्लो समय सर्लाहीमा अनियमित विद्युत कटौती बढेपछि स्थानीय आक्रोशित भएका छन् ।जिल्लामा तीन वटा वितरण केन्द्र रहेकामा सबै वितरण केन्द्रहरुले अनियमित विद्युत कटौती गर्न थालेपछि जिल्लाका स्थानीय आक्रोशित भएका छन्।दिनभर पटक पटक विद्युत कटौती भएपछि चर्काे गर्मीमा जनजीवन प्रभावित भएको छ भने सेवाग्राहीहरु हैरान भएका छन् ।
नेपाल विद्युत प्राधिकरण,मलंगवा वितरण केन्द्र, बरहथवा वितरण केन्द्र र लालबन्दी वितरण केन्द्रले विभिन्न वाहनामा र अनियमित विद्युत कटौती भएपछि स्थानीयले आक्रोश व्यक्त गर्न थालेका छन् ।मर्मत सम्भारका लागि केही समय विद्युत कटौती गर्नुु सामान्य हो,तर जुनसुकै समयमा पनि विद्युत कटौती गर्दा समस्या भएको स्थानीयको भनाई छ ।उनीहरुका अनुसार लाइन गएको समयमा वितरण केन्द्र मलंगवामा फोन गर्दा फोन नउठ्ने वा उठे पनि “माथिबाटै काटिएको हो, हामीलाई जानकारी छैन।”भन्ने एउटै जवाफ आउने गरेको छ।यस्तो गैरजिम्मेवार व्यवहार प्रति सेवाग्राही असन्तुष्ट छन् ।

सर्लाही सदरमुकाम मलंगवाका साथै अन्य स्थानहरुमा भएको अनियमित विद्युत कटौतीले विद्युतीय कामहरु प्रभावित हुनुका साथै चर्काे गर्मीका सर्लाहीबासी मारमा परेका छन् । अनियमित विद्युत् आपूर्तिका कारण उद्योग व्यवसाय,विद्यार्थीहरुको पठनपाठन तथा घरायसी काममा समेत प्रभाव परेको छ ।
जिल्लाका वितरण केन्द्रहरुले कहिले सूचना जारी गरेर त कहिले विना सूचनै विद्युत कटौती गर्ने गरेका कारण खडेरीले आँतिएका किसानहरु मोटर चलाएर खेतमा पानी पटाउने लगायत कार्यालयहरु का विद्युतीय कामहरु पुर्ण रुपमा प्रभावित हुने गरेका पाइएको छ ।