भदौ २३ नेपालको इतिहासमा कालो अक्षरले लेखिन्छःघिसिङ

264 Shares

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले भदौ २३ को दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने टिप्पणी गरेका छन्। भ्रष्टाचार र बेथितिको विरोधमा सोमबार आन्दोलनमा उत्रिएका “जेन जी”पुस्ताका युवामाथि सरकारले दमन गर्दा १९ जना मारिएका र करिब चार सय जना घाईते भएका प्रति लक्षित गर्दै घिसिङले भदौ २३ को दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने टिप्पणी गरेका हुन ।
“आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो।”घिसिङले फेसबुकमा लेखेका छन् ।“देशभित्र व्याप्त बेथिति,बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द लगायतका विषयलाई लिएर “जेन जी”पुस्ताले सोमबार देशभर स्वतःस्फूर्तरूपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम् भत्र्सना गर्दछु।”
“उज्यालो नेपाल अभियान”सञ्चालन गरिरहेका घिसिङले देशले होनहार युवा गुमाउनुपर्दा मर्माहत भएको उल्लेख गरेका छन्।“यस दुःखद् घडीमा ज्यान गुमाउने सम्पूर्ण युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”घिसिङले लेखेका छन् ।
“जेन जी”पुस्ताको आन्दोलन युवाहरूको सपना,नयाँ नेपालको सपना,पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना भएको उनले बताएका छन्।“हामीले सबै नागरिकको अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्नुपर्छ।देशभित्रै सुन्दर भविष्य,समृद्धि र जवाफदेहिताको चाहना राख्ने युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले मर्माहत भएको छु।यो घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ । ”घिसिङ लेखेका छन् । 
“राज्यले कलिला युवाहरूमाथि क्रूरतापूर्ण दमन गरेकोले यो आन्दोलनले “जेन जी”पुस्ताको मात्रै नभएर आम नेपाली जनताको आन्दोलनको रूप लिएको छ।साथै यस संवदेनशील घडीमा सबै पक्षले संयमता अपनाउन समेत अनुरोध गर्दछु।”उनले भने ।केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यकाल बाँकी छँदै विद्युत् प्राधिकरणबाट निकालेपछि “उज्यालो नेपाल अभियान”सञ्चालन गरिरहेका घिसिङ देश दौडाहमा निस्केका छन् ।

सम्बन्धित समाचार