नेपाली कांग्रेस,नेकपा एमाल र नेकपा(माओवादी केन्द्र)सहितका राजनीतिक दलहरूले प्रतिनिधि सभाबाटै समाधान खोज्न नेपाली सेनालाई सुझाव दिएका छन्।राजनीतिक दलका युवा नेताहरूले प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष अहिलेको गणतान्त्रिक व्यवस्थालाई कायम राख्दै संसद्बाटै निकास निकाल्नु पर्ने सन्देश दिएका हुन् ।
“जेन जी” प्रतिनिधिसँग नेपाली सेनाले अहिले संवाद गरि रहेको छ तर ठूलो र संगठित शक्ति अझै बाहिरै छौं,अहिलेको संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधानको परिधि र अहिलेको प्रतिनिधि सभाबाटै अहिलेको विसम परिस्थितिको समाधान खोजीनु पर्छ ।”नेताहरुले बताएका छन् ।
उनका अनुसार परम्परागत शक्तिलाई बाइपास गरेर हुने कुनै पनि निर्णयले स्थायित्व दिँदैन। अहिलेको व्यवस्थालाई जोगाएर “जेन जी”पुस्ताको माग पूरा गर्ने सन्दर्भमा आफूहरू जे गर्न पनि तयार छौँ।भन्ने सन्देश नेपाली सेनाको मुख्यालयलाई पठाइएको छ ।“संसद्मै रहेका नयाँ पुस्ता वा उनीहरूले छानेका जो कोहीको नेतृत्वमा सरकार बनाएर “जेन जी”पुस्ताको तर्फबाट समेत प्रतिनिधित्व हुने गरी अघि बढ्न सकिन्छ,”हामीले सेनाको मुख्यालयलाई यही सन्देश दिएका छौँ।अर्का नेताले बताए ।
स्रोतका अनुसार,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समेत एउटा पक्षको मत समेत संसद्बाटै जो कोहीलाई अघि सारेर चुनावी सरकार बनाउनुपर्छ भन्ने छ।“जे गरे पनि यही संविधान अन्तर्गत अघि बढ्नुपर्छ भन्ने हो,”रास्वापाका एक सांसद्ले बताए।“यो संविधान जोखिममा पर्दा भोलि झन् अफ्ठ्यारो परिस्थिति बन्नसक्छ ।त्यसका कारण लोकतान्त्रीक संविधान बाहिर गएर अरु कुरा सोच्न सकिन्न।”उनले बताए ।
स्रोतका अनुसार, रास्वपाका केही नेताहरूसँग नेपाली सेनाका प्रधानसेनापति सिग्देलले समेत छलफल गर्ने तयारी गरेका छन् ।सैनिक स्रोतले समेत पुराना दलहरूसँग समेत अनौपचारिक छलफल गरि रहेको बुझिएको छ।“हामी बाहिर आएका सबै प्रतिक्रियालाई नोटिसमा लिएका छौं,तर नेपाली सेनाले “जेन जी” प्रतिनिधि धेरै भएकाले एकमत गराउन सहजीकरण मात्र गरेको हो।”एक सैनिक अधिकारीले बताए ।निर्णायक वार्ता राष्ट्रपति रामचन्द्र पौडेल कै उपस्थितिमा हुने नेपाली सेना स्रोतले जनाएको छ ।
नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले बिहीबार दिउँसो विज्ञप्ति जारी गरेर संवैधानिक बाटोबाटै देशलाई निकास दिने प्रयास गर्ने बताएका छन् ।तर,बुधबार “जेन जी”प्रतिनिधिले अन्तरिम सरकारको प्रमुखका रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेपछि दलहरूले प्रक्रिया बारेमा प्रश्न उठाएका छन् ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिडियो वक्तव्य जारी गर्दै संविधान भन्दा पर गएर समाधान खोजियो भने केही समयपछि सम्हाल्न नसकिने अवस्था आउने बताएका छन् ।
दलहरूका युवा संगठनले समेत संयुक्त विज्ञप्ति जारी गरेर“आगामी राजनीतिक निकास संविधान भित्रबाटै निकाल्नुपर्ने”उनीहरुको अडान छ।“कुनै पनि नयाँ परिवर्तनतर्फ अग्रसर हुँदै गर्दा ठूलो बलिदानी मार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर बनाइने र तिनको रक्षा हुने व्यवस्था हुनुपर्छ भनेर जोडदार माग गर्दछौं।”नेपाली कांग्रेस निकट नेपाल तरुण दलका सभापति विद्वान गुरुङ,नेकपा(एमाले)निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे,नेकपा(माओवादी केन्द्र)निकट योङ्ग कम्युनिष्ट लिग(वाईसीएल)नेपालका अध्यक्ष पुष्प ओली,नेकपा(एकीकृत समाजवादी)निकट युवा संघ नेपालका अध्यक्ष रोशन थापा र अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
“जेन जी” प्रतिनिधिहरूले पूर्व प्रधानन्यायधीश कार्कीको नाम अघि सारेपछि दलहरूले त्यस किमिसको प्रस्ताव अघि सारेको भन्दै स्वीकार्य नहुने बताउँछन् ।तर “जेन जी” प्रतिनिधिहरूले २०/२५ वर्षदेखि कुनै राजनीतिक पोजिसनमा बसेका व्यक्तिले नतिजा दिन नसकेकैले यो आन्दोलन भएको दाबी गरेका छन् ।स्रोतका अनुसार, आगामी सरकारको मोडलिटी कस्तो हुने भन्ने विषयमा छलफल भइरहेको छ ।राष्ट्रपति कार्यालय र नेपाली सेनाले विभिन्न संविधानविद्हरुसँग समेत छलफल गरिरहेको स्रोतले जनाएको छ ।
भ्रष्टाचार विरुद्ध “जेन जी”पुस्ताले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला सरकारले फेसबुक लगायत २५ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो।त्यसपछि “नेपोनेविज”अभियान चलाइरहेका “जेन जी”ले स्वतःस्फूर्त सडक प्रदर्शन घोषणा गरेका थिए ।आन्दोलनको क्रममा ३४ जनाको ज्यान गएको छ भने करिब पाँच सय जना घाईते भएका छन् भने मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र सर्वोच्च अदालत लगायतका स्थानमा तोडफोड तथा आगजनी भएको थियो ।