सिन्धुलीको फिक्कल गाउँपालिका ६ को स्वास्थ्य चौकी रत्नावतीका प्रमुख सन्तोष राज पौडेलले निःशुल्क उपलब्ध भएको सरकारी औषधी बिक्रि गर्ने गरेको रहस्य बाहिरिएको छ।पौडेलले सरकारी औषधी बिक्रि गर्नुका साथै सहकर्मीलाई मानसिक यातना दिने र ज्यान मार्ने धम्की दिने गरेको समेत रहस्य बाहिरिएको छ ।
पौडेलले सरकारी औषधी व्यक्तिगत रूपमा बिक्री गर्दै आएका,हेल्थ पोस्टमै आफ्नै औषधी व्यापार गर्ने गरेका,सहकर्मीलाई मानसिक यातना दिने र यौनजन्य दुव्र्यवहार गर्ने जस्ता गतिविधि गर्ने गरेका स्रोतको भनाई छ ।यता,फिक्कल गाउँपालिका ६ का वडा सचिव तथा स्वास्थ्य चौकी रत्नावती सञ्चालक समितिका सदस्य मोहन सुनुवारले आफुहरुले छानविन गरेको र बाहिर आएको चर्चा जतिकै चर्चाको विषय नरहेको बताए।उनले केही मिडियाहरुले मनोपोली रुपमा समाचार बनाई प्रकाशन गरेका प्रति आफुहरुलाई निकै दुःख लागेको समेत बताए ।
त्यसैगरी,स्वास्थ्य चौकी रत्नावतीका प्रमुख पौडेल र कर्मचारी विचको सामान्य विवाद रहेकाले छलफल गरी समस्या समाधान भएको र स्वास्थ्य चौकी रत्नावतीका प्रमुख पौडेललाई लिखित स्पष्टीकरण लिएर फिक्कल अस्पतालमा सरुवा गरिएको फिक्कल गाउँपालिका ६ का वडा अध्यक्ष एवम स्वास्थ्य चौकी रत्नावती सञ्चालक समितिका अध्यक्ष कुलेन्द्र बहादुर राना मगरले बताए। उनका अनुसार स्वास्थ्य चौकी रत्नावतीका प्रमुख पौडेल र कर्मचारीले आफुहरुबाट भए/गरेको कमि कमजोरीको आत्मलोचना गरी सकेका छन् ।
साथै,भदौ २७ गते स्वास्थ्य संस्था व्यवस्थापन समितिमा लिखित उजुरी दर्ता भएपछि भदौ २९ गते भित्र स्वास्थ्य चौकी रत्नावतीका प्रमुख पौडेललाई फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगरले स्पष्टीकरण पेश गर्न परिपत्र गरेका थिए ।त्यस लगतै स्वास्थ्य चौकी रत्नावतीका प्रमुख पौडेलले स्पष्टीकरण दिएपछि फिक्कल गाउँपालिकाले उनलाई फिक्कल अस्पताल सरुवा गरेको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए ।यता,आफुमाथि लागेका कुनैपनि आरोपमा सत्यता नरहेको र कपोकल्पीत,भ्रामक तथा चरित्र हत्या गर्ने गरी प्रचारबाजी गरिएको स्वास्थ्य चौकी रत्नावतीका प्रमुख पौडेलले बताए ।उनले आफु २०७२ सालमा स्वास्थ्य चौकी रत्नावतीमा सरुवा भई आएको र हेल्थपोष्टको जीर्ण अवस्थाबाट माथि उठाउन अहोरात्र खटिएको भएपनि अनावश्यक चरित्र हत्या गर्दा दुःख लागेको समेत बताए।उनले राज्यले दिने निःशुल्क औषधी सेवाग्राहीहरुलाई वितरण गरि रहेको र भौगोलिक विकटताका कारण निःशुल्क औषधीले नभ्याउने अवस्थामा आफुले स्थानीयलाई गाउँमै सेवा पुगोस भनेर केही शःसुल्क औषधी बिक्रि गरेको स्वीकार गरे।उनले भने मैले सरकारी औषधी बेचेको होईन्। सरकारी औषधीले नहुने अवस्थामा प्राईभेट औषधी बिक्रि गरेको हुँ ।त्यस्तै,उत्त घटनाका सम्बन्धमा स्वास्थ्य चौकी रत्नावतीमा कार्यरत एक कर्मचारीलाई कमलामाई मिडिया प्रा.लि.ले फोन गरी सो सम्बन्धमा के भएको हो भनी प्रश्न गर्दा उनले केही बोल्न चाहेनन् ।तर स्वास्थ्य चौकी रत्नावतीमा कार्यरत अनमी सुमन्ता घिसिङ सहित कृतिका सिग्देल र भेष बहादुर दमाईले फिक्कल गाउँपालिकामा निवेदन नै पेश गरेका छन् ।