सर्लाहीका तीन पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा

345 Shares

११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीका दुई वटा नगरपालिका सहित एउटा गाउँपालिका गरी तीन वटा पालिका अझै निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भई रहेका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देशभरका सबै पालिका निमित्त रहित बनाएको दाबी गरेपनि सर्लाहीकै तीनवटा पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भई रहेका पाइएको हो ।
मन्त्रालयले एक सय २२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गरेर प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णय गरेको भएपनि सर्लाहीको हरिपुर र कविलासी नगरपालिका तथा विष्णु गाउँपालिका अहिले पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै चलाई रहेका छन् ।
हरिपुर नगरपालिकामा शाखा अधिकृत विनय पौडेल,कविलासी नगरपालिकामा आर्युवेद शाखाका राज किशोर महतो र विष्णु गाउँपालिकामा स्वास्थ्य शाखाका कर्मचारी संजिव सापकोटाले लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरी रहेका छन् ।
पालिकाका जनप्रतिनिधिहरुले आर्थिक चलखेल गर्नको लागि आफु निकटलाई निमित्त बनाउने र मन्त्रालयले सरुवा गरी पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरै हुन नदिने गरेका स्थानीयको आरोप छ ।२० वटा पालिकाहरु मध्य यसअघि अन्य आठ वटा पालिकाहरुमा पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेकामा मन्त्रालयले ती पालिकाहरुमा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत खटिसकेको छ ।

सम्बन्धित समाचार