सर्लाहीमा विगत १ वर्षको अवधिमा लागुऔषधको कारोवार तथा ओसार पसारमा संग्लग्न रहेका करिब डेढ सय जना पक्राउ परेका छन् ।नेपाल भारत खुल्ला सीमानाका कारण आर्थिक वर्ष २०८१÷०८२ मा लागु औषधको कारोबार र ओसार पसारमा संग्लग्न रहेका एक सय ४२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा एक सय २६ जना नेपाली पुरुष,११ जना महिला र पाँच जना गैर नेपाली गरी कुल एक सय ४२ जनालाई विभिन्न किसिमका लागुऔषध सहित पक्राउ गरिएको हो ।
लागु औषध गाँजा अन्दाजी दुई हजार चार सय ४२ किलो छ सय ९२ ग्राम,ब्राउन सुगर ४० मिमीग्राम,चरेश पाँच सय ४० मिलीग्राम,हिरोईन ५४ ग्राम छ सय ५० मिलीग्राम र अन्य लागु औषधहरु गरी ९६ वटा मुद्धा दर्ता हुँदा एक सय ४२ जना मानिसहरु पक्राउ परेका हुन। त्यस्तै,नौ हजार आठ सय २५ पिस ट्याब्लेट,तीन हजार पाँच सय ४१ पिस क्याप्सुल,एक हजार नौ सय ३४ बोतल विभिन्न किसिमका लागु औषध र पाँच सय १२ एम्पुल इन्जेक्सन बरामद गरेको छ ।
त्यसैगरी,आर्थिक वर्ष २०८१/०८२ मा लागुऔषधसँग सम्बन्धित ४६ वटा मुद्दा दर्ता गर्दा ९३ जना मानिसहरुलाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।प्रहरीका अनुसार,पक्राउ परेका ९३ जनामध्ये ८४ जना पुरुष,सात जना महिला र दुई जना तेस्रोलिङ्गी पुरुष रहेका छन् ।लागु औषध ओसार पसार तथा प्रयोगमा संलग्न चार जना मानिस फरार रहेको र उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीले विभिन्न स्थानमा गरेको छापा र अनुसन्धानका क्रममा तीन सय ८४ ग्राम दुई सय ३३ मिलिग्राम खैरो हेरोइन र दुई सय ९४ किलो छ सय ९४ दशमलव तीन सय ४१ ग्राम गाँजा ३१ हजार नौ सय १० पिस ट्याब्लेट र एक सय ८८ बोतल विभिन्न किसिमका लागु औषध बोतल बरामद भएको छ ।
लागुऔषधको बढ्दो प्रयोगले विशेषगरी युवा पुस्तालाई बढी जोखिममा पारेको प्रहरीको अनुसन्धानबाट देखिएको छ।प्रहरीका अनुसार यसको कारोबार र दुव्र्यसनीले सामाजिक र पारिवारिक सम्बन्धमा मात्र असर नपारी विभिन्न आपराधिक घटनाहरूलाई पनि बढावा दिने गरेको छ ।प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाउनुका साथै,यसको रोकथामका लागि जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको जानकारहरु बताउँछन् ।