गैर जिम्मेवार राज्यका कारण नागरिकता नपाउनेको पीडा,

495 Shares

राष्ट्र र नागरिकबीचको सम्बन्धको मूल आधार नै नागरिकता हो। नागरिकता बिना व्यक्तिको अस्तित्व राज्यका लागि अदृश्य हुन्छ। संविधानले जस्तोसुकै अधिकार ग्यारेन्टी गरे पनि, नागरिकता नभएको व्यक्तिको लागि ती अधिकारहरू केवल कागजमा मात्र सीमित रहन्छन्।नेपालमा पनि हजारौं मानिस आजसम्म नागरिकता नपाएर “नागरिक भएर पनि अनागरिक” जीवन बिताइरहेका छन्। यो केवल कानुनी समस्या होइन,यो अस्तित्व,पहिचान र मानव अधिकारसँग जोडिएको गहिरो पीडा हो।
नागरिकता केवल कागजी प्रमाणपत्र होइन,यो नागरिक र राज्यबीचको कानुनी नाता प्रमाणित गर्ने सर्वाधिक महत्वपूर्ण दस्तावेज र राज्यका हरेक निकायसम्म नागरिकको पहुँच सुनिश्चित गर्छ ।नेपालमा नागरिकता सम्बन्धी कानुनी यात्रा लामो छ।वि.सं. १९१० को मुलुकी ऐनदेखि लिएर २०६३ को नागरिकता ऐन र २०७२ को संविधानसम्म आइपुग्दा नागरिकताको स्वरूपमा सुधार देखिए पनि व्यवहारमा असमानता यथावत छ।संविधानले महिला र पुरुषलाई समान अधिकार दिएको भए पनि नागरिकता वितरणमा भने महिलामाथि विभेद कायमै छ ।
स्थानीय निकायको सिफारिस मार्फत ईलाका प्रशासन कार्यालयहरु र जिल्ला प्रशासन कार्यालयहरुले नेपाली नागरिक नागरिकलाई प्रदान गर्ने भएपनि स्थानीय तहहरुका जनप्रतिनिधिहरुको मानसिकतामा राजनीतिक,आर्थिक र साम्प्रदायीक दृष्टिकोण रहेका कारण अहिले पनि धेरै नागरिकहरु नागरिकता विहिन हुनु परीरहेको छ ।
सन् १९४८ को मानवअधिकार घोषणापत्रले “प्रत्येक व्यक्तिलाई नागरिकताको अधिकार हुन्छ”नागरिकता अनिवार्य हुन्छ । यस कारण नेपाली आमाका सन्तानहरू पढाइ र रोजगारी दुबैबाट वञ्चित छन् । कतिपय युवाहरू मानसिक तनावमा परेका छन् । विवाह गर्न पनि उनीहरूलाई समस्या हुन्छ ।“तिम्रो नागरिकता छैन” भन्ने सामाजिक कलंक उनीहरूको जीवनको अर्को पीडा बनेको छ । नागरिकता विहीन युवाले आफ्नै नाममा सिमकार्ड लिन सक्दैनन् ।राज्यका कुनैपनि काम कार्बाहीमा नागरिकता अनिवार्य भएपनि राज्यको घुमाउँरो र विभेदकारी नियमका कारण साथै जनप्रतिनिधिहरुको अनपेक्षित स्वार्थका कारण नेपाल मै जन्मीएर पनि अनागरिक हुनु परीरहेका घटनाहरु धेरै छन् ।
राज्यले आफ्नै आमाको कोखबाट जन्मिएका हजारौं सन्तानलाई नागरिक स्वीकार गरेको छैन ।यस्तो अन्याय देख्दा अनागरिकको रूपमा बाँच्न बाध्य संविधानमा लेखिएका समानता, नागरिकता र अधिकारका धारा अर्थहीन विधेयक २०७५ लगायतको व्यापक संशोधन आवश्यक छ ।संविधानले स्नातक तहमा प्रवेश गर्न,बैंक आमाबाट जन्मेका सन्तानलाई खाता खोल्न,सिमकार्ड लिन पनि वंशजका रूपमा नागरिकता वा सवारी चालक अनुमति पत्र दिने व्यवस्था गरेको भएपनि हजारौं युवायुवती नागरिकताको अभावमा शिक्षादेखि रोजगारीसम्म वञ्चित भइरहेका छन् । 
नागरिकताको महत्व
नागरिकता कुनै सामान्य कागजी प्रमाण मात्र होइन,यो मानव अस्तित्वको सरकारी मान्यता हो।नागरिकता प्रमाणपत्रले राज्यसँग जन्म,शिक्षा,स्वास्थ्य,रोजगार,सम्पत्ति स्वामित्व,मतदान अधिकार,सामाजिक सुरक्षा र पासपोर्ट(राहदानी)सबै सम्बन्ध स्थापित गर्छ ।नागरिकता नभएपछि व्यक्ति राज्यका आँखा अगाडि “अदृश्य”हुन्छ। नागरिकता नभएको मानिस कानुनी रूपमा “नागरिक नभएको”अर्थात् अधिकारहीन व्यक्तिमा परिणत हुन्छ। यो स्थिति लोकतन्त्र,मानव अधिकार र समानताको मूलभूत मूल्यका लागि अपमान हो।
नेपालमा नागरिकता सम्बन्धी पृष्ठभूमि
नेपालमा नागरिकता वितरणको विषय विगत धेरै वर्षदेखि राजनीतिक विवादको केन्द्रमा रहँदै आएको छ। संविधान २०७२ ले नागरिकता अधिकार सुनिश्चित गरेको भए पनि व्यवहारमा हजारौं युवाले अझै नागरिकता पाएका छैनन्।वंशज नागरिकता (बाबु–आमाबाट प्रमाणित) पाउन कठिनाइ,वैवाहिक नाताबाट नागरिकता लिने महिलाहरूको समस्या र सीमावर्ती जिल्लाका समुदायहरूको पहिचान सम्बन्धी जटिलता नेपालमा नागरिकता वितरणका मुख्यतया समस्याको रुपमा देखा परेको छ ।नागरिकता लिन सरोकारवाला कार्यालय जाने युवाहरूलाई सानो त्रुटिका कारण लामो समय सम्म अल्झाउने र नागरिकता नदिने समस्या कुनै नौलो होईन । 
नागरिकता नपाउने युवाको वास्तविकता
कसैले +२ पास गरे पनि विश्व विद्यालयमा नाम गर्न,कसैले रोजगारको आवेदन दिन,कसैले मोटरसाइकल वा सिमकार्ड किन्न,कतिपय विवाह वा जन्म दर्ता गर्न पनि असमर्थ हुन्छन्।यी सबैले एउटा सामान्य जीवन बाँच्न असम्भव बनाइदिन्छ।नागरिकता नपाउनु भनेको राज्यबाट बहिष्कृत हुनु हो।यो केवल कागजी समस्या होइन,यो आत्मसम्मान,प्रतिष्ठा र मानव मूल्यको ह्रास हो।
सामाजिक मनोवैज्ञानिक असर
अवश्य तिम्रो बाबु आमामा केही समस्या होला,तिमी त गैर नेपाली होला नि”भन्ने अपमानजनक टिप्पणी उनीहरूले सहनुपर्छ।यसले युवाको आत्मविश्वास तोड्छ,सामाजिक सम्बन्ध कमजोर पार्छ र जीवनप्रति वितृष्णा ल्याउँछ।कसैको दोष नहुँदा पनि राज्यले अस्वीकार गर्दा उत्पन्न हुने पीडा गहिरो हुन्छ।नागरिकता नपाएका कतिपय युवाले अपराध वा अवसाद रोज्न थालेका छन्। यसरी नागरिकता नपाउनु केवल कानुनी अन्याय होइन,यो मानव मनोविज्ञानमाथिको यातना हो।
राजनीतिक पक्ष र राज्यको उदासीनता
नागरिकता वितरण नेपालमा राजनीतिक दाउपेचको विषय बनाइँदै आएको छ। कुनै सरकारले नागरिकता दिन पहल गर्छ,अर्को सरकारले रोक्छ।संसदमा नागरिकता विधेयक पटक–पटक रोकिएको छ।कहिले राष्ट्रपतिको अस्वीकृतिमा,कहिले दलहरूबीचको अविश्वासमा यस प्रकारका गतिविधिहरु भई रहेका छन्।
राजनीतिक नेताहरूले नागरिकताको सवाललाई राष्ट्रवाद र जनसंख्याको सन्तुलनका बहानामा प्रयोग गर्छन्।तर वास्तविकता यो हो कि नागरिकता नपाएका व्यक्ति विदेशी होइनन्,उनीहरू यतै जन्मिएका,यतै हुर्किएका नेपाली हुन्।राज्यले आफ्नो सन्तानलाई अपनाउन नसक्नु नै राजनीतिक असफलता र मानवीय संवेदनशून्यताको प्रमाण हो।
नागरिकता र लैङ्गिक असमानता
नागरिकता वितरणमा महिलामाथि हुने भेदभाव अझ दर्दनाक छ।संविधानले बाबु वा आमामार्फत नागरिकता दिने भनिए पनि व्यवहारमा बाबुबाट मात्र नागरिकता प्रमाणित गर्ने प्रवृत्ति हावी छ। कतिपय आमाहरुको नागरिकता समेत छैन् ।जसका कारण विवाह दर्ता समेत हुन नसकी रहेको अवस्था छ । यो महिलाको नागरिक अधिकारमाथिको खुला भेदभाव हो।नेपाल जस्तो लोकतान्त्रिक मुलुकमा आमा र बाबुबीचको अधिकारमा यस्तो असमानता हुनु मानव अधिकार र लैङ्गिक समानताको सिद्धान्त विरुद्ध हो। 
मधेशका जिल्लाहरुका साथै उच्च पाहाडी र विपन्न समुदायका हजारौं युवाले नागरिकता पाउन सकिरहेका छैनन्।बसोबास प्रमाणित,पहिचान र अभिलेखमा समस्या देखाइएको बहानामा नागरिकता रोक्ने प्रवृत्ति छ।राज्यले साँचो र झुटो छुट्याउन सक्ने तर्कसंगत प्रणाली विकास गरेर दोषी र निर्दाेष पहिचान गर्नु पर्ने हो ।यो समान नागरिकताको सिद्धान्तमाथिको आघात हो।
नागरिकता र आर्थिक अवसर
नागरिकता नपाउने समस्या केवल कानुनी होइन,सामाजिक र आर्थिक असमानताको जरो पनि हो।बैंक खाता खोल्न नसक्दा बचत गर्न सक्दैनन्। सम्पत्ति किन्न नसक्दा लगानी गर्न सक्दैनन्।रोजगारी आवेदनमा नागरिकता अनिवार्य भएकाले रोजगारका अवसरबाट वञ्चित हुन्छन्।यसले राज्यको अर्थतन्त्रमा पनि असर पार्छ ।उत्पादक युवाशक्ति निष्क्रिय बन्छ।नागरिकता नपाएका युवाहरूलाई राज्यले जसरी प्रयोगविहीन बनाइरहेको छ ।त्यो मानव स्रोतको व्यर्थ प्रयोग हो।
मानव अधिकारको उल्लंघन
संयुक्त राष्ट्रसंघको मानव अधिकार घोषणा–पत्रले स्पष्ट रूपमा भन्छ।“हरेक व्यक्तिलाई कुनै देशको नागरिक हुने अधिकार छ।”तर नेपालमा हजारौं व्यक्तिहरू यो अधिकारबाट वञ्चित छन्।संविधानले दिएको अधिकारलाई व्यवहारमा कार्यान्वयन नगर्दा राज्यले अन्तर्राष्ट्रिय दायित्व उल्लंघन गरिरहेको छ।यो समस्या अब कानुनी सुधार मात्र होइन,न्याय,समानता र गरिमाको पुनस्र्थापनाको विषय हो।
समाधान कसरी गर्ने 
नागरिकता वितरण प्रक्रियालाई सरल,डिजिटल र पारदर्शी बनाउनुपर्ने,आमा र बाबु दुवैबाट नागरिकता पाउने समान अधिकार सुनिश्चित गर्नुपर्ने,नागरिकता विषयलाई दलहरूको प्रतिस्पर्धाको मुद्दा होइन,राष्ट्रिय सहमतिको विषय बनाउनुपर्ने,नागरिकता लिन आवश्यक कागजात,प्रक्रिया र अधिकारबारे जनतालाई जानकारी दिनुपर्ने,देशव्यापी डिजिटल डेटाबेस बनाएर नागरिकता वितरणमा हुने दोहोरोपन र त्रुटि कम गर्नुपर्छ ।
अन्त्य : नागरिकता नपाएको पीडा केवल एउटा प्रमाणपत्रको कमी मात्र होइन ।यो अस्तित्वको अस्वीकार,पहिचानको संकट र न्यायको वञ्चना हो।राज्यका हरेक अंगले यो पीडालाई महसुस गर्नुपर्छ।लोकतन्त्र तब मात्र सार्थक हुन्छ जब राज्यले आफ्ना सबै सन्तानलाई बराबरी व्यवहार गर्छ।नागरिकता नपाएका हजारौं नेपालीलाई अधिकार दिलाउनु राज्यको कर्तव्य हो।नेपालमा जन्मीएर नेपाली नागरिकता पाउन नसक्नेहरूको पीडा बुझ्न सके मात्र हामी साँचो अर्थमा लोकतान्त्रिक,मानवतावादी र संवेदनशील समाज बन्न सक्छौं।

सम्बन्धित समाचार