सूचनाको शुद्धता र पत्रकारिताको जिम्मेवारी सहित सिन्धुलीकोे समसामयिक अवस्था र सञ्चार माध्यमको भूमिकाका सवालमा प्रमुख जिल्ला अधिकारी र सिन्धुलीका पत्रकारहरु विच छलफल भएको छ।भरखरै मात्रै सरुवा भएर सिन्धुली आएकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्लाका पत्रकारहरुसंग छलफल गर्दै अहिलेको समाजमा फैलँदो गलत जानकारी र जानाजान गलत सूचना प्रवाहको प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरिन ।
“सूचना प्रवाहमा सन्तुलन र सत्यता अत्यावश्यक छ।अपूर्ण वा गलत जानकारीले समाजमा जटिल परिस्थितिहरू सिर्जना गर्न सक्छ।त्यसैले पत्रकारहरूले तथ्यमा आधारित समाचार प्रसारणमा जोड दिनुपर्छ,”प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताईन् ।प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पत्रकारितालाई लोकतन्त्रको मेरुदण्ड बताउँदै स्थानीय प्रशासन र सञ्चारकर्मीबीच सधैं सहयोगी सम्बन्ध रहनुपर्ने धारणा राखिन ।
आफ्नो कार्यकालमा सद्भावपूर्ण समन्वय,सुशासन प्रवद्र्धन र जनसेवामुखी प्रशासन स्थापना गर्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले प्रतिबद्धता व्यक्त गरिन।प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्लाका सरोकारवाला निकाय,स्थानीय सरकार,नागरिक समाज र सञ्चारमाध्यमबीच सहकार्यका माध्यमबाट प्रशासनिक सेवा अझ प्रभावकारी बनाउन पहल गर्ने समेत बताइन ।
“जनताको भरोसा जित्ने प्रशासन नै सशक्त प्रशासन हो।म सबै तहका सरोकारवालाहरुसँग खुलेर सहकार्य गर्न चाहन्छु।जिल्लाका विकासका चुनौती,भौगोलिक कठिनाइ र प्रशासनिक सीमितता समाधान गर्न समन्वय र पारदर्शी नीतिलाई प्रमुख प्राथमिकतामा राख्छु।जसका लागि पत्रकार र प्रशासनबीचको संवाद आवश्यक छ।हामी सबैको लक्ष्य समाजमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नु हो ।”प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताईन् ।