सर्लाहीको धनकौलस्थित रहेको अन्नपूर्ण चिनी उद्योगले किसानहरुलाई उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक किसानहरुले धर्ना सुरु गरेका छन्।आर्थिक वर्ष २०७०/०७१ देखिको भुक्तानी बाँकी रहेको भन्दै किसानहरुले उद्योगका विरुद्ध आन्दोलन सुरु गरेका हुन् ।गत वर्ष उखुको मुल्य तय नहुँदै संचालन भएको उद्योगले प्रतिक्विन्टल रु २० भुक्तानी दिन बाँकी रहेको किसानहरुले बताएका छन्।
२०८० फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उद्योगपतिले २०८१ जेठ मसान्तसम्म सबै रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म भुक्तानी नदिएपछि आफुहरु मारमा परेकाले उद्योगका विरुद्ध आन्दोलन गर्न बाधय भएको उखु किसानका अगुवा रामआधार राय यादवले बताए।उनका अनुसार उद्योगले २०७१ सालदेखिको रु नौ करोड ७० लाख भुक्तानी गर्नबाँकी रहेको छ।
।उद्योगले किसानहरुलाई दिनुपर्ने पुरानो भुक्तानीको विषयमा सर्लाही जिल्ला अदालतमा दायर भएको मुद्दा विचाराधीन अवस्थामै रहेको उद्योगका प्रशासकीय प्रमुख रमेश प्रसाद श्रीवास्तवले बताए।उनका अनुसार सुरुमा मुल्य कायमै नहुँदै उद्योग सञ्चालन गरिएको र उखुबाट रिकोभरी समेत कम आएकाले किसानलाई भुक्तानी दिन समस्या परेको हो।
उत्त उद्योग उद्योगपति राकेश अग्रवालले स्थापना गरेको उद्योग २०७७ सालमा अर्का उद्योगपति शैलेन्द्र गुप्ताले खरिद गरेका थिए ।जसका कारण उखु उत्पादक किसानहरुको बक्यौता रकम कसले भुक्तानी गर्ने भन्ने अन्यौलता सृजना भएको छ। सर्लाहीमा रहेका तीन वटा चिनी उद्योगहरु मध्य इन्दु शंकर चिनी उद्योग हरिवन बाहेक अरु उद्योगले किसानहरुलाई समय मै भुक्तानी नदिने गरेका पाइएको छ ।