सर्लाहीको ईलाका प्रशासन कार्यालय हरिवनको प्रमुखको रुपमा शाखा अधिकृत विशाल चौधरी खटिएका छन्।दरवन्दी अनुसारका अधिकृत नरहेकाले अर्काे व्यवस्था नहुँदा सम्मका लागि कारागार कार्यालय मलंगवाका जेलर चौधरीलाई ईलाका प्रशासन कार्यालय हरिवनको प्रमुखको रुपमा पठाईएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार नागरिकतामा हस्ताक्षर गर्ने कार्यालय प्रमुख नै नभएपछि अर्को व्यवस्था नहुँदा सम्मका लागि शाखा अधिकृत चौधरीलाई इलाका प्रशासन कार्यालय हरिवनको प्रमुखको रुपमा पठाइएको हो । इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा कात्तिक ५ गतेदेखि अनिवार्य अवकास भएसँगै कार्यालय प्रमुख विहीन बनेको थियो ।
सर्लाहीको इश्वरपुर,लालबन्दी,हरिवन र बागमती नगरपालिकाका स्थानीयलाई नागरिकता जारी गर्ने तथा अन्य सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालय हरिवनमा केही दिन जिल्ला प्रशासन कार्यालयबाट शाखा अधिकृत कृष्णदेव रायलाई खटाइएको भएपनि जिल्ला प्रशासन कार्यालयमा रहेका दुई जना शाखा अधिकृतमध्ये रायलाई हरिवन पठाउँदा जिल्ला प्रशासन कार्यालयमै शाखा अधिकृतको अभाव खड्किएपछि नागरिकको काम नरोकियोस् भनेर हरिवनमा तत्काललाई कारागारका जेलर शाआ अधिकृत चौधरीलाई हरिवनमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिवहरी पोखरेलले बताए ।उनका अनुसार शाखा अधिकृत चौधरी ईलाका प्रशासन कार्यालय हरिवन गएपछि मलंगवा कारागारमा तत्कालका लागि नायब सुब्बालाई निमित्त जेलरको जिम्मेवारी दिइएको छ ।