नेपाल प्रहरीको ३३ औँ प्रहरी महानिरीक्षक(आईजिपी)मा कार्की नियुक्त

513 Shares

नेपाल प्रहरीको ३३ औँ प्रहरी महानिरीक्षक(आईजिपी)मा दानबहादुर कार्की नियुक्त भएका छन् ।नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा कार्की कात्तिक २७ गतेदेखि लागु हुने गरी नेपाल प्रहरीको ३३ औँ प्रहरी महानिरीक्षक (आईजिपी)पदमा नियुक्त भएका हुन् ।उनी नेपाल प्रहरीको प्रहरी महानिरीक्षक नियुक्तिका लागि चार जना मध्य पहिलो नम्बरका दाबेदार थिए।२०२९ साउन १५ मा गुल्मीमा जन्मिएका कार्की २०५४ चैत १८ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक दर्जामा भर्ना भएका थिए ।
उपत्यका प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत कार्की जेनजी आन्दोलनको बहानामा महानिरीक्षक नियुक्त नहुने भनी चर्चामा थिए।तर,सरकारले पहिलो नम्बरको उनको वरीयता माथि न्याय गर्दै नेपाल प्रहरीको ३३ औँ प्रहरी महानिरीक्षक (आईजिपी) मा नियुक्त गर्ने निर्णय गरेको छ ।कार्कीले प्रहरी सेवाका क्रममा लुम्बिनी प्रदेश,काठमाडौं उपत्यकासहित काठमाडौं,कास्की र कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए।उनले प्रहरी निरीक्षक दर्जामा इलाका प्रहरी कार्यालय काकडभित्ता,झापा र तनहुँको आबुखैरेनीमा कार्यालय प्रमुखको जिम्मेवारी निभाएका थिए ।
प्रहरी नायव उपरीक्षक दर्जामा इलाका प्रहरी कार्यालय,बुटवल र काठमाडौंस्थित प्रहरी वृत्त, नयाँ बानेश्वरको जिम्मेवारी बहन गरेका उनले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारीमा जानुअघि प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत विकास विभागको प्रमुखको पनि जिम्मेवारी सम्हालेका थिए ।नेपाल प्रहरी मै भर्ना भएका कार्की नेपाल प्रहरीको निर्विवाद प्रहरी अधिकृतको रुपमा रहँदै आएका हुन भने अन्य एआईजीहरु राष्ट्रिय अनुसन्धानबाट आएका प्रहरी अधिकृतहरु हुन ।कार्कीलाई नेपाल प्रहरीको ३३ औँ प्रहरी महानिरीक्षक(आईजिपी)मा नियुक्त रोक्न धेरै मिडिया ट्रायल समेत भएको थियो । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।

सम्बन्धित समाचार