मुख्य मन्त्री यादवलाई काम गर्न सर्वाेच्चको रोक,अन्य दलका प्रदेश सभा सदस्यहरु आन्दोलित

537 Shares

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको ठहर गर्दै सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पहिलो सुनुवाइ गर्दै होटलमा नियुक्त भएका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न रोक लगाएको हो ।अदालतले मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रकिया प्रारम्भिक रुपमा असंवैधानिक भएको ठहर गर्दै हाललाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको सर्वाेच्च अदालत स्रोतले जनाएको छ ।नेकपा(एमाले)का मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाउने निर्णय असंवैधानिक भएको भन्दै प्रश्न उठेको र व्याख्या गर्नुपर्ने प्रश्न उठेको भन्दै रिटको अन्तिम टुंगो नालगेसम्म मधेश प्रदेशलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न सर्वोच्चले रोक लगाएको छ ।
त्यस्तै,मधेश प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै एमाले बाहेकका अन्य दलका ७४ जना प्रदेश सभा सदस्यहरुले सर्वाेच्च अदालतमा दायर गरेको रिटका पेसी बुधबारका लागि तोकिएको छ ।संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको मधेश प्रदेश सरकार विरुद्ध एमाले बाहेक अन्य दलका ७४ जना प्रदेश सभा सदस्यहरु मंगलबार सर्वोच्च पुगेका थिए। 
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव,जनता समाजवादी पार्टी(जसपा)नेपालका संसदीय दलका नेता सरोज कुमार यादव,नेकपा(माओवादी केन्द्र)संसदीय दलका उपनेता युवराज भट्टराई(समिर),लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)संसदीय दलका नेता जयलुन राइन्स हितका नेताहरु मंगलबार सर्वोच्च पुगेका थिए ।
मधेश प्रदेशमा एक सय सात जना पव्रदेश सभा सदस्यहरु रहेका छन् ।सरकार बनाउन ५४ जना प्रदेश सभा सदस्यहरुको संख्या बहुमत हो ।एमालेका सभामुख सहित २५ जना,कांग्रेसका २२ जना,जसपाका १९ जना, जनमतका १३ जना, माओवादी र लोसपाका नौ जना,नेकपा (एकीकृत समाजवादी)का सात जना, संघीय समाजवादी,राप्रपा र नागरिक उन्मुक्ति पार्टीका एक–एक जना प्रदेश सभा सदस्य रहेका छन् ।यसमध्ये एमालेका प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर,जसपाका प्रदेश सभा सदस्य सरोजसिंह कुशवाह र लोसपाका प्रदेश सभा सदस्य अभिराम शर्मा निलम्बित छन् ।मधेश प्रदेश सभामा हाल कायम रहेको सदस्य संख्या एक सय चार हो ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले एमाले नेता यादवलाई सोमबार बिहान करिब ४ बजे बर्दिबास नगरपालिका स्थित कालापानीमा रहेको एक होटलमा मुख्यमन्त्रीको शपथ गराएकी थिइन्।जसका कारण भण्डारीको प्रदेश प्रमुख पद पनि गुमेको छ ।यता,मधेस भवन नियन्त्रणमा लिँदै सात दलका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री र मन्त्रीलाई प्रवेश निषेध गरेका छन् ।मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर आन्दोलित भएका एमाले बाहेकका दलका प्रदेश सभा सदस्यहरुले विरोध प्रदर्शन सहित मधेस भवन नियन्त्रणमा लिँदै मुख्यमन्त्री र मन्त्रीलाई प्रवेश निषेध गरेका हुन ।
मधेस सरकारको प्रशासनिक केन्द्र मधेस भवन अगाडि कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी,जसपा नेपाल,जनमत पार्टी र लोसपा नेपाल लगायतका दलका प्रदेश सभा सदस्यहरूले प्रदर्शन जारी राखेका छन् । सोमबार शपथ लिएका मुख्यमन्त्री यादवले हालसम्म पदभार ग्रहण गर्न पाएका छैनन्।थप दुई सदस्यीय मन्त्री मण्डल घोषणा गरेका यादव सहित अन्य मन्त्री पनि कार्यकक्षमा जान सकि रहेका छैनन्।भने प्रदेश सभाका सभामुखको कार्यकक्ष मधेस भवन बाहिर रहेकाले उनीमाथि त्यति दबाब छैन।सभामुख रामचन्द्र मण्डल आफ्नो कार्यालयमा गएर दैनिक कामकाज गर्दै आएका छन् । साथै,एमाले बाहेकका प्रदेश सभा सदस्यहरुले मधेस भवनमा छिर्न नदिएपछि मुख्यमन्त्री यादवले मंगलबार जनकपुरस्थित एक होटलमा पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

सम्बन्धित समाचार