सधैँका लागि अस्ताएका गाउँका उज्याला युवा योगेन्द्र,अधिकृत बन्ने सपना सधैँका लागि अधुरो

350 Shares

सिन्धुलीको गोलञ्जोर गाउँपालिका १ च्याखुटारका २५ वर्षीय योगेन्द्र न्यौपाने भदौ २३ र २४ गते आयोजना गरिएको जेन जी पुस्ताको भ्रष्टाचार विरुद्धको आन्दोलनमा बानेश्वरमा सदाका लागि अस्ताए।निजामती सेवामा प्रवेश गरेर देशका लागि काम गर्ने जीवन लक्ष्य लिएर अधिकृत बन्न घरबाट हिडेका न्यौपाने देशको व्याप्त रहेको भ्रष्टाचार र कुशासनका विरुद्धको जेन जी पुस्ताको आन्दोलनमा सहभागी हुदै गर्दा अस्ताएपछि उनको अधिकृतको सपना मात्रै मरेन न्यौपाने परिवारको बुढेसकालको साहारा पनि ढल्यो ।सामान्य परिवारमा जन्मिएका उनी शान्त,मेहनती र अध्ययनशील थिए।लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरिसकेका उनी मौखिक परीक्षामार्फत अफ्फ्नो नाम निकाल्ने दृढ विश्वासमा थिए ।तर सोही तयारीको बीचमा उनको जीवन अनपेक्षित रूपमा बानेश्वरको सडकमा ढल्यो ।
भदौ २३ गते काठमाडौँमा भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर उनी दुर्भाग्यपूर्ण रूपमा ज्यान गुमाउन पुगे । सरकारी सेवामा प्रवेश गरेर समाज सुधार्न चाहने एक युवा योगेन्द्रको जीवन राजधानीकै आन्दोलनमा अन्त्य हुनु परिवार,स्थानीयवासी र गाउँकै युवामाझ गहिरो शोकको विषय बनेको छ ।
न्यौपाने परिवारले योगेन्द्रबाट धेरै आशा राखेका थिए।दशैंमा घर फर्कने योजना उनले केही दिन अघि मात्र फोन मार्फत सुनाएका थिए।“छोरा दशैंमा घर आउँछु भनेको थियो।अब त्यो स्वर कहिल्यै नफर्कने भयो,”आमाको नयनभरीका आँसु आज पनि सुकेको छैन । स्थायी शिक्षक बुबा युवराज न्यौपाने छोराले लोकसेवा सफलतापूर्वक पास गर्ने पूर्ण आशामा थिए।तर त्यो आशा क्षणभरमै चकनाचुर भयो ।
त्रिचन्द्र कलेजमा अध्यायनरत योगेन्द्र पढाइमा अब्बल थिए।सरल,भद्र र मेहनती स्वभावका योगेन्द्र छिमेकीहरूका समेत प्यारो मान्छे थिए।जसले गाउँमै“उज्यालो भविष्यका प्रतिनिधि”का रूपमा पहिचान बनाइसकेका थिए।“गाउँले एक क्षमतावान् युवक गुमायो।विद्यालयले एक मेहनती र असल विद्यार्थी गुमायो ।न्यौपाने परिवाररले बुढेसकालको साहारा गुमायो ।स्थानीय सचिन न्यौपानेले बताए ।
राजनीतिक दलमा आवद्ध नभएका योगेन्द्र जेन–जी आन्दोलनप्रति चासो राखे पनि उनी आन्दोलनकारी हुँदै सडकमा उत्रने स्वभावका थिएनन्।तर आन्दोलनको पहिलो दिनमै उनको ज्यान जाने घटनाले युवा पुस्तामा विद्रोह,पीडा र आक्रोस पैदा गरेको छ ।
सरकारले आन्दोलनका क्रममा मृत्यु भएका नागरिकलाई शहीद घोषणा गरेपछि जिल्लामा उनको सम्मानमा शालिक निर्माण गर्नुपर्ने आवाज स्थानीयस्तरमा उठिरहेको छ।शहीद परिवारहरू सरकारले उनीहरूको सपना पूरा गर्ने काममा अग्रसर होस् भन्ने चाहना राख्छन्। परिवारले पनि देशले योगेन्द्रका अधुरो सपना पूरा गरिदियोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।
न्यौपाने परिवारमा दुई छोरा र एक छोरीमध्ये जेठा योगेन्द्रको निधनले घरमा मात्र होइन,समुदायमा गहिरो खालीपन पैदा गरेको छ।राजधानीमै बसोबास गर्ने तयारीमा रहेका योगेन्द्र गाउँ नफर्केको पनि करिब छ महिना भइसकेको थियो।अब,उनी फर्कने घर–दैलो उनका सम्झनाका कथाहरूले मात्र भरिएको छ।अब उनी कहिलै गाउँ नफर्किने गरी सधौका लागि अस्ताएका छन् ।
देश सुधार्ने लक्ष्य बोकेर हिँडेका एक उज्यालो सम्भावना राजधानीकै संघर्षमय सडकमा निभिएको यो घटनाले देशभरका युवाहरूको भावनामा ठूलो प्रश्न उब्जाएको छ ।“देशका लागि सपना देख्ने युवाको भविष्य के यस्तै अनिश्चित रहन्छ ?”अहिले युवा पुस्ताले राज्यलाइृ प्रश्न गरी रहेका छन् ।

सम्बन्धित समाचार