स्थानीय तहका बेथितिका सम्बन्धमा सबै भन्दा धेरै उजुरी मधेस प्रदेशका स्थानीय तहहरुबाट परेका पाइएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष २०८१/०८२ मा स्थानीय तह सम्बन्धी मुलुकभरबाट १९ हजार नौ सय ३३ उजुरी परेकामा सबै भन्दा धेरै मधेश प्रदेशबाट सात हजार ७२ अर्थात् ३५ दशमलव ४८ प्रतिशत उजुरी परेका आयोगले जनाएको छ ।
मधेस प्रदेशका स्थानीय तहमध्ये पर्साको वीरगञ्ज महानगरपालिकासँग सम्बन्धित एक सय ७३ वटा र पर्साकै छिपरमाई गाउँपालिकासँग सम्बन्धित एक सय २६ वटा उजुरी परेका छन्। बाराको सुवर्ण गाउँपालिकासँग सम्बन्धित दुई सय ३०,पचरौता नगरपालिकासँग सम्बन्धित एक सय ९२ वटा परेका छन् ।
प्रतिवेदनमा उल्लेख भए अनुसार स्थानीय तहहरूले विधि र प्रक्रिया मिचेर मनपरी खरिद गर्ने प्रवृत्ति देशैभर देखिन्छ।यस्तो प्रवृत्तिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रतिवेदन, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायले उजागर गर्र्दै आएका छन् ।
स्थानीय तहमा मनपरी ढङ्गले सार्वजनिक खरिद गर्ने प्रवृत्ति रहेको महालेखा परीक्षकको कार्यालयको दाबी छ ।“स्थानीय तहमा हुने खरिदमा धेरै विकृति देखापरेका छन्,यो प्रवृत्ति झन् झन् मौलाउँदै गएको छ।स्थानीय तहमा खरिद प्रक्रिया बुझेको जनशक्ति नभएर हो वा किन हो,आर्थिक अनुशासनहीनताको अवस्था देखिएको छ।त्यसमा पनि अधिकांश उजुरीहरु सार्वजनिक खरिदसँग सम्बन्धित रहेका छन्।”पूर्व कार्यवाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीले बताए ।
महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनले पनि आव २०८०/०८१ मा सार्वजनिक खरिद ऐन २०६३ विपरीत स्थानीय तहमा खरिद प्रक्रियामा त्रुटि भएको औँल्याएको छ।प्रतिवेदनले आव २०८०/०८१ मा मुलुकभरका पाँच सय ५४ वटा स्थानीय तहले प्रतिस्पर्धा नगराई विभिन्न निर्माण कार्य,औषधी खरिद,परामर्श एवम वस्तु तथा सेवा खरिद गरी रु सात अर्ब २१ करोड ४४ लाख ४८ हजार खर्च लेखेको देखाएको छ ।
जबकि स्थानीय तहले पनि सार्वजनिक खरिद ऐन,२०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सीमित नहुने गरी खरिद गर्नुपर्ने,सार्वजनिक खरिद नियमावली,२०६४ को नियम ८५ मा रु १० लाखसम्म सोझै खरिद गर्न सकिने र नियम ८४ अनुसार रु १० लाखभन्दा बढीको खरिद कार्य सिलबन्दी दरभाउ पत्र र रु २० लाखभन्दा माथि बोलपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था छ ।
यस्तो अवस्थामा सार्वजनिक खरिद अनुगमन कार्यालय र महालेखापरीक्षकको कार्यालयले स्थानीय तहलाई खरिद ऐन र खरिद नियमावलीको विषयमा तालिम दिन जरुरी रहेको जानकारहरू बताउँछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्साका १४ पालिकाका उजुरीको संख्या उल्लेखनीय रहेका छन्।आयोगको हेटौँडा कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा वीरगञ्ज महानगरपालिका सम्बन्धी एक सय ७३ वटा उजुरी परेका छन्।गत आर्थिक वर्षमा छिपरमाई गाउँपालिकामा एक सय २६,पोखरिया नगरपालिकामा ३४,बहुदरमाई नगरपालिकामा २७ र पकहाँ मैनपुर गाउँपालिकामा २३ वटा उजुरी परेको छ।त्यस्तैगरी पर्सागढीमा पाँच,ठोरीमा तीन,जगरनाथपुरमा पाँच,धोबिनीमा १६,विन्दवासिनीमा नौ,सखुवाप्रसौनीमा चार र कालिकामाईमा छवटा उजुरी परेका आयोगको हेटौँडा स्थित कार्यालयले जनाएको छ ।
यस्तै,पटेर्वा सुगौली र जिराभवानी पालिकामा भने कुनै उजुरी परेको छैन।आयोग हेटौँडा कार्यालयका सूचना अधिकारी विमोचन घिमिरेले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियाका विषयमा धेरैजसो उजुरी आउने गरेको बताए ।आयोगको हेटौँडा कार्यालयमा गत आर्थिक वर्षमा १२ जिल्लाका स्थानीय तहविरुद्ध एक हजार नौ सय ५६ वटा उजुरी दर्ता भएका छन्।हेटाँैडा कार्यालय मातहत पर्ने १२ जिल्लामध्ये सबैभन्दा धेरै उजुरी रौतहट,बारा र पर्साका रहेका छन्।गत आर्थिक वर्षमा रौतहतका स्थानीय तहसम्बन्धी पाँच सय ३० वटा उजुरी परेका छन् ।
यस्तै,बाराका स्थानीय तह सम्बन्धित चार सय ९३ वटा र पर्साका स्थानीय तहसम्बन्धी चार सय ३१ वटा उजुरी परेका छन् ।१२ जिल्लामध्ये रामेछापका स्थानीय तहसम्बन्धी उजुरी शून्य रहेको छ ।हेटौँडा कार्यालय मातहत मधेस प्रदेशका तीन जिल्ला र बाग्मती प्रदेशका नौ जिल्ला पर्दछन् । रौतहट,बारा,पर्सा,मकवानपुर,चितवन,धादिङ,दोलखा,काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,रसुवा, नुवाकोट र रामेछाप कार्यालयको मातहत रहेका छन् ।