सर्लाहीका तीनवटै चिनी उद्योग पुसको पहिलो सातादेखि क्रसिङ सुरु गर्ने भएका छन्।प्रत्येक चिनी उद्योगमा अहिले मिलका उपकरण मर्मत,परीक्षण र कामदार जुटाउने सहितका तयारीका काम भई रहेकोले पुसको पहिलो साताबाट क्रसिङ सुरु गर्ने इन्दुशंकर चिनी उद्योगका उखु प्रवन्धक योगनारायण रजकले बताए ।उनका अनुसार जिल्लामा सञ्चालनमा रहेका तीन वटा चिनी उद्योगहरु मध्य इन्दुशंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले मिल सञ्चालन गर्ने पहिला गरिने डोङ्गा पूजा गरि सकेका छन् ।
डोङ्गा पूजा गर्दै इन्दुशंकरले यस वर्ष ३५ लाख क्विन्टल र महालक्ष्मीले करिब २२ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ।गतवर्ष इन्दुशंकरले करिब ३० लाख र महालक्ष्मीले करिब १४ लाख क्विन्टल उखु क्रसिङ गरेको महालक्ष्मी चिनी उद्योगका प्रशासकीय प्रमुख शिवशंकर महतोले बताए ।
यता,शुक्रबार मात्रै डोङगा पूजा गरेको अन्नपूर्ण चिनी उद्योग धनकौलले अन्य उद्योग भन्दा दुई÷ चार दिन ढिलो गरी उद्योग संचालन गर्ने उद्योगका संचालक शैलेन्द्र गुप्ताले बताए ।उखु उत्पादक किसानहरुले केही साताअघि पुरानो बक्यौता रकम भुक्तानी गर्न माग गर्दै अन्नपूर्ण चिनी उद्योग विरुद्ध आन्दोलन नै गरेका थिए ।
त्यस्तै,मंसिर २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षका लागि उखुको मुल्य प्रतिक्विन्टल उद्योगले रु छ सय २० र सरकारले अनुदान बापत रु ७० गरी कुल प्रतिक्विन्टल रु छ सय ९० दिने घोषणा गरेको छ । सरकारले एक पक्षीय रुपमा मुल्य निर्धारण गरेको भन्दै गुनासो गरिरहेका उखु उत्पादक किसानहरुले अब सोही मुल्यलाई नै स्वीकार गरेर उखु काट्ने तयारी गरेका नेपाल उखु उत्पादक किसान महासंघले जनाएको छ ।महासंघका अनुसार गएको वर्षको अनुदान वापतको प्रतिक्विन्टल बाँकीरु ३५ सरकारले अहिले सम्मपनि भुक्तानी गरेको छैन् ।
लामो समय सम्म अनुदान वापतको बाँकी रकम भुक्तानीको माग गर्दै देशभरका उखु उत्पादक किसानहरु आन्देलित भएपनि सरकारले कुनै सुनुवाई नगरेपछि किसानहरु थाकेर सरकारले हाल तोकेको उखुको प्रतिक्विन्टल रु छ सय ९० दिने घोषणालाई स्वीकार गरि आफ्नो खेतमा लगाएको उखु काट्ने तयारी गरेका छन् । नगदेवालीको रुपमा परिचित उखु खेती पछिल्लो समय उधारो वाली भएपछि पछिल्लो समय उखु उत्पादक किसानहरु निराश भएका छन् ।