म्याजिक व्यवसायी र बस व्यवसायीहरु बीचको विवाद समाधान

190 Shares

म्याजिक व्यवसायी र बस व्यवसायीहरु बीच देखिएका समस्या समाधान भएका छन् ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का र मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरे सहित म्याजिक व्यवसायी र बस व्यवसायीहरु बसेर छलफल गरी समस्या समाधान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीको मलंगवा नगरपालिका २ स्थित बसपार्कबाटै सञ्चालन हुन पाउनु पर्ने माग गर्दै सर्लाहीका म्याजिक व्यवसायीहरुले सर्लाही सदरमुकाम मलंगवामा मंगलबार प्रदर्शन गरेका थिए ।आफुहरुको माग लिएर ज्ञापन पत्र मार्फत प्रमुख जिल्ला अधिकारी कडरियालाई भेट्न जाँदा वेवास्था गरेपछि बाध्य भएर आन्दोलित हुनु परेको रौतहट सर्लाही यातायात प्रा.लि. का अध्यक्ष राजेश कुमार मैनाली(राजकुमार)ले बताए ।
उनका अनुसार आफुहरुले पहिला देखि नै मलंगवा नगरपालिका २ मा निर्माण भएको बसपार्कबाट म्याजिकहरु सञ्चालन गरी रहेको भएपनि केही दिन पहिला जिल्ला प्रशासन कार्यालय सर्लाही र मलंगवा नगरपालिकाले निर्णय नै गरेर पुस १ गतेदेखि बस सञ्चालन गर्ने र म्याजिकहरुलाई जिल्ला विकास चोकबाट सञ्चालन गराउने तयारी गरेपछि आफुहरु बाध्य भएर आन्दोलनमा जानु परेको हो ।
म्याजिक व्यवसायीहरुको आन्दोलनपछि बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको छलफलबाट १५ मिनेटको अन्तरालमा एउटा म्याजिक छुट्ने र बस आफ्नो नियमित  समयतालिका अनुसार छुट्ने,राजश्री चौक देखि दक्षिण तर्फ दुवै सवारी साधन जान नपाउने,प्रत्येक चौकमा पाँच मिनेट भन्दा बढी दुवै सवारी साधन रोक्न नपाउने, क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने,जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको समन्वयमा समय कार्डको प्रयोग गर्ने,नवलपुरमा बस व्यवसायी र म्याजिक व्यवसायी बीच भएको निर्णय पालना गर्ने,निर्णय कार्यान्वयनमा कुनै जटिलता उत्पन्न भएमा दुवै व्यवसायी वा प्रशासनको मध्यस्तामा बैठक बसी समस्या समाधान गर्न सकिने र भएका निर्णयहरु दुवै पक्षले इमान्दारीताका साथ पालना गर्ने सहमती भएको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए ।उनका अनुसार बस र म्याजिक व्यवसायी दुवै नयाँ बस पार्कबाट नै सञ्चालन हुने भएका छन् ।
यसअघि कृषि विकास बैँकको मलंगवा नगरपालिका ९ मा रहेको जग्गाबाट लामो समयदेखि बस सञ्चालन भई रहेको थिए ।मलंगवा नगरपालिका २ मा बसपार्क निर्माण भएपछि पटक पटक जिल्लाका सरोकारवालाहरुले बस लैजाने तयारी गरेका भएपनि यातायात व्यावसायीहरु विच नै विवाद हुँदा उत्त कार्य हुन सकेको थिएन् । 

सम्बन्धित समाचार