नेकपा(एमाले)को ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सर्लाहीका सात जना मध्य चार जना निर्वाचित भएका छन् भने तीन जना पराजित भएका छन्।राधिका खतिवडा,हरि प्रसाद उप्रेती,कल्पना कुमारी कटुवाल र रौनित साह केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन भने रञ्जना कुमारी सरकार,रेवती पन्त र प्रकाश थापा पराजित भएका हुन ।
त्यसैगरी केन्द्रीय अनुशासन आयोगको सदस्यमा जय प्रकाश यादव विजयी भएका हुन ।दुई हजार दुई सय २७ जना प्रतिनिधिले मतदान गरेकामा खतिवडाले एक हजार नौ सय १५ मत,निवर्तमान रक्षा मन्त्री समेत भएका सर्लाही क्षेत्रनम्बर ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य उप्रेतीले एक हजार पाँच सय एक मत,बरहथवा नगरपालिकाकी नगर प्रमुख समेत रहेकी कटुवालले एक हजार पाँच सय छ मत र युवा नेता साह निर्विरोध निर्वाचित भएका हुन ।
त्यसैगरी,केन्द्रीय अनुशासन आयोगको सदस्यमा यादवले एक हजार सात सय ८८ मत पाई विजयी हुँदा रन्जनाले आठ सय एक मत,नेकपा(एमाले) मधेश प्रदेशका उपाअध्यक्ष समेत रहेको पन्तले पाँच सय ३४ मत पाउँदा एमाले सर्लाहीका सह सचिव थापाले चार सय ३० मत पाई पराजित भएका हुन ।
पराजित हुने तीन जना मध्य पन्त र थापाले संस्थापन इृतर अर्थात इश्वर पोखरेल प्यानबाट उम्मेदवारी दिएका थिए भने यसअघि पनि केन्द्रीय सदस्य रहेकी सरकारलाई ईश्वर पोखरेलको प्यानलले आफ्नो लिष्टमा राखेको भएपनि उनले आफू कुनैपनि प्यानलबाट नभई स्वतन्त्र रुपमा उठेको दाबी गरेकी थिईन् ।