पुस महिना सुरु हुनासाथ सर्लाही सहित तराई– मधेशका जिल्लाहरूमा अचानक शीतलहर र बाक्लो हुस्सुको प्रकोप बढेको छ।मधेश प्रदेशका आठै जिल्लामा शुक्रवारदेखि घाम नलागेर चिसो बढेको छ।शुक्रबारदेखि अचानक चिसो हावा र बाक्लो हुस्सु लागेका कारण हवाई सेवा समेत प्रभावित भएको छ ।
बिहानको विमान जनकपुर तथा सिमराबाट उडान भएपनि त्यसपछि दिनभरि अर्को उडान वा अवतरण हुन सकेन।बिहीवारसम्म पारिलो घाम लागेर सामान्य कपडामै हिँडडुल गर्ने सर्वसाधारण शुक्रवारदेखि एक्कासी बढेको चिसोबाट जोगिन बाक्लो न्यानो लुगा लगाउन बाध्य भएका छन्।न्यानो लुगा ज्याकेट,स्वेटर र उलेन चादरको विक्री समेत बढेको छ ।
बिहानदेखि नै लाग्ने हुस्सुले चिसोपन अत्यधिक बढाएको छ।“घामै देखिँदैन, चिसोले हातखुट्टा कटकट खान्छ।”स्थानीयले बताए।बजारमा मानिसको चहलपहल कम भएको छ,विद्यालय जाने बालबालिका र बूढापाकाहरू घरभित्रै सीमित हुने अवस्था आएको छ।ग्रामीण क्षेत्रमा स्थानीय आगो तापेर बस्न थालेका छन् ।
गरिब परिवारहरूले प्लास्टिक र झिल्लीलाई आगोमा तताएर न्यानो खोज्नुपर्ने बाध्यता छ। हरेक बर्ष जाडोयाममा तराई–मधेशमा यस्तै शीतलहर चल्छ।घाम नदेखिने दिनहरू लामो हुँदा कृषि क्षेत्र समेत प्रभावित हुन्छ,तरकारी बाली सुक्न थाल्छ।विगतमा चिसोकै कारण पर्याप्त न्यानो कपडा नहुनेहरूको ज्यान गुमाउने गरेका छन् ।
यो वर्ष पनि मौसम विभागले चिसो बढ्ने चेतावनी दिएको छ।स्वास्थ्यकर्मीहरूले चिसोबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।“तातो झोलिलो खानेकुरा खान,न्यानो कपडा लगाउन र अत्यावश्यक बाहेक बाहिर ननिस्कनका साथै बूढा–बूढी र बालबालिकालाई बढी जोखिम हुन्छ।”चिकित्सकहरुले बताएका छन्।गएरातिदेखि एक्कासी बढेको चिसो केही दिन कायम रहने मौसम विज्ञहरुको अनुमान छ।सर्वसाधारणलाई घरमै बस्न र न्यानोमा ध्यान दिन स्वास्थ्यकर्मीहरुको सल्लाह छ ।