नवलपुर मलंगवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा ट्रकको ठक्करबाट एक वृद्धको घटनास्थलमै ज्यान गएको छ।नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना ७ ख ७३६९ नम्वरको ट्रकले साइकल यात्री लालबन्दी नगरपालिका २ का अन्दाजी ६९ वर्षीय मिन्दुक दोर्जे लोप्चनलाई ठक्कर दिँदा उनको घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
साईकलयात्रीलाई ठक्क्र दिँने ट्रकलाई दुर्घटना लगत्तै स्थानीयले तोडफोड गरेका छन् ।साईकल यात्रीलाई ठक्कर दिएपछि ट्रकका चालक फरार भएका भन्दै स्थानीय र पीडित परिवारले शवलाई घटनास्थल मै राखेर केही समय प्रदर्शन समेत गरेका थिए । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक विरेन्द्र सिंह जोहारीको नेतृत्वमा प्रहरी टोली खटि स्थानीय तथा पीडित परिवारलाई सम्झाई बुझाई गरेपछि शवलाई पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।
स्थानीय तथा पीडित परिवारले ट्रकका चालकलाई नियन्त्रणमा लिनु पर्ने माग राखेकामा प्रहरीको तादरुकताका कारण दुर्घटनापछि फरार भएका ट्रकका चालक कविलासी नगरपालिका १ बस्ने अन्दाजी २४ वर्षीय संगम कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यसपछि पीडित परिवारले शव बुझेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।पछिल्लो समय सर्लाहीमा ट्राफिक प्रहरीको सुस्तताका कारण माल वाहक तथा यात्रु बाहक सवारी साधनहरुले ट्राफिक नियम उल्लंघन गर्दा दुर्घटनाका घटनाहरु बढी रहेका स्थानीय बताउँछन् ।