नेकपा (माओवादी)ले अर्घाखाँचीको सितगंगा नगरपालिका क्षेत्रमा रहेको जनकम्युनमा प्रहरीले छापा मारेको घटनाको विरोध गर्दै चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ।माओवादीले उक्त घटनालाई राजनीतिक दमनको संज्ञा दिँदै त्यसविरुद्ध देशव्यापी आन्दोलनमा जाने निर्णय गरेको माओवादी प्रवक्ता खड्ग बहादुर वि.क.(प्रकाण्ड)ले बताए ।
उनका अनुसार शनिबार बसेको माओवादीको स्थायी कमिटी बैठकले हालको राजनीतिक अवस्था,सरकारको भूमिका लगायत विषयमा विस्तृत छलफल गर्दै संघर्षका कार्यक्रम तय गरेको हो।बैठकपछि जारी गरिएको विज्ञप्तिमा प्रहरीले जनकम्युनमा छापा मार्नु शान्तिपूर्ण राजनीतिक गतिविधि माथिको हस्तक्षेप भएको आरोप लगाइएको छ । माओवादीका अनुसार जनताको अधिकार र संगठनमाथि हुने यस्ता कार्य स्वीकार्य नहुने भन्दै त्यसविरुद्ध जनस्तरबाट प्रतिरोध आवश्यक भएको निष्कर्ष बैठकले निकालेको छ ।घोषित कार्यक्रम अनुसार पुस १२ गते देशभर एकैसाथ मसाल जुलुस आयोजना गरिएको छ । पुस १३ गते सबै जिल्लामा कोणसभा गर्ने,पुस १४ गते विरोध प्रदर्शन गर्ने र पुस १५ गते काठमाडौँमा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने माओवादीका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले बताए । उनका अनुसार आफुहरुका सबै आन्दोलनका कार्यक्रमहरु शान्तिपूर्ण तर दृढ रूपमा अघि बढ्ने छ ।
माओवादी नेतृत्वले सरकारलाई दमनको नीति त्याग्न र राजनीतिक समस्याको समाधान संवादबाट खोज्न आग्रह गरेको छ।“जनताको बीचमा रहेका कम्युन र संगठनमाथि हुने छापा तथा दमनले समस्या समाधान हुँदैन,बरु असन्तोष थप चर्किन्छ।”विज्ञप्तिमा भनिएको छ । पार्टीले आफूहरू संविधान,जनअधिकार र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको दाबी गर्दै संघर्षका कार्यक्रम जनचासो र सहभागितासहित सफल बनाइने जनाएको छ ।तर सरकारले भने यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।