सर्लाहीको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले पूर्व सूचना नै नदिई समर्सियल विद्युत लाइनका काटेपछि नगरभित्र खानेपानी आपूर्ति अवरुद्ध भएको भन्दै मलंगवा नगर संरक्षण तथा सुधार समितिले जिल्ला प्रशासन कार्यालय मलंगवामा ज्ञापनपत्र बुझाएको छ।समितिका अनुसार मधेश प्रदेशलाई पानीको चरम अभावका कारण सुखाग्रस्त क्षेत्र घोषणा गरिएको अवस्थामा मलंगवा नगरपालिकामा जनताको आवश्यकतालाई ध्यानमा राखी समर्सियल विद्युत जडान मार्फत पानी आपूर्ति हुँदै आएको थियो।तर नेपाल विद्युत प्राधिकरणले कुनै जानकारी नदिई ती लाइन काट्दा नगरवासी पानीको अभावले प्रभावित भएका समितिका अध्यक्ष चन्दन कुमार सिंहले बताए ।
समितिले प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई बुझाएको ज्ञापनपत्रमा विद्युत लाइन काट्न आउने क्रममा नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले स्थानीय जनप्रतिनिधिसँग असहयोगी र अपमानजनक व्यवहार गरेको गुनासो पनि गरिएको छ।समस्या समाधानका लागि पुगेका मलंगवा नगरपालिका २ का अध्यक्ष धीरेन्द्र शाह र मलंगवा नगरपालिका १० का अध्यक्ष मुकेश झालाई नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले अपमानजनक व्यवहार गरेका प्रति समितिले निन्दा गरेको छ ।
समितिले तत्काल काटिएका सबै विद्युत लाइन पुनःजडान गर्न,भविष्यमा लाइन काट्नु अघि अनिवार्य रूपमा लिखित सूचना दिने व्यवस्था लागू गर्न,वडाअध्यक्षलाई अमानवीय व्यवहार गर्ने कर्मचारीलाई जवाफदेही बनाउन तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग समन्वय गरी समस्याको दीगो समाधान निकाल्न माग गरेको छ।