सर्लाहीमा पछिल्लो समय व्यापक वन फडानी हुने गरेको रहस्य बाहिरिएको छ।सव डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले वन जंगल संरक्षण गर्न भन्दै चलानी नम्बर सयबाट लालबन्दी नगरपालिका ११ स्थित रहेको बाहुनीदेवी सामुदायिक वन उपभोक्ता समुहलाई पत्राचार गरेपछि सर्लाहीमा पछिल्लो समय व्यापक वन फडानी हुने गरेको रहस्य बाहिरिएको हो ।
सव डिभिजन वन कार्यालय लालबन्दीले गरेको पत्राचारमा सव डिभिजन वन कार्यालय लालबन्दीवाट गस्ती गर्दै जादा त्यहाँ सामुदायिक वन क्षेत्रमा साल जातका रुखहरुको वोक्रा तासी वन जंगलमा हानी नोक्सानी गरेको देखिएकोले पत्थरकोट पोष्टमा कार्यरत वन कर्मचारी सँग आवश्यक समन्वय गरी वन,वन्यजन्तु,वनस्पतिको संरक्षणका साथ साथै वन क्षेत्र अतिक्रमण हुन नदिनका लागि नियमित गस्ती गरी वन जंगल संरक्षण गर्नु÷गराउनु हुन अनुरोध छ।भनिएको छ ।
सर्लाहीका चुरे क्षेत्रदेखि तराईका सामुदायिक तथा सरकारी वनसम्म अवैध रूपमा रुख कटानी, ढुंगा गिटी उत्खन्न र जंगल अतिक्रमणका घटना बढ्दै गएका छन्।वन संरक्षणका लागि जिम्मेवार निकायको कमजोर अनुगमन,राजनीतिक संरक्षण र स्थानीय तहको उदासीनताले समस्या झनै जटिल बन्दै गएको जानकारहरु बताउँछन्।
सर्लाहीको चुरे क्षेत्र जलस्रोत,जैविक विविधता र वातावरणीय सन्तुलनका लागि अत्यन्त संवेदनशील क्षेत्र हो।यही क्षेत्रमा भइरहेको अन्धाधुन्ध वन फडानीका कारण खोलानाला सुक्दै जानुका साथै भूमिक्षय बढेको छ भने तराईका बस्तीहरू बाढी र डुबानको जोखिममा परिरहेका छन्।वन विनाशको प्रत्यक्ष असर कृषि उत्पादनका साथै सिँचाइका मुहान सुक्दा किसानहरू चिन्तित बनेका छन् ।
रातको समयमा ट्र्याक्टर,टिपर र ट्रक प्रयोग गरेर रुख कटानी तथा काठ ओसार पसार हुने गरेको स्रोतको दाबी छ।कतिपय स्थानमा वन क्षेत्र नै प्लटिङ गरी निजी प्रयोजनमा प्रयोग गरिएको समेत स्रोतको आरोप छ।सामुदायिक वनहरूमा समेत समितिका केही पदाधिकारी र काठ तस्करहरुका साथै केही वनकर्मीहरुको मिलेमतोमा वन फडानी हुने गरेको स्रोतको आरोप छ ।
वन फडानीले वातावरणीय मात्र नभई सामाजिक र आर्थिक समस्या पनि निम्त्याइरहेको छ। वनमा आश्रित गरिब,दलित र आदिवासी समुदायको जीविकोपार्जन संकटमा परेको छ।दाउरा, घाँस र जडिबुटीको अभावले दैनिक जीवन कष्टकर बन्दै गएको छ।वन नष्ट हुँदा वन्यजन्तुको बासस्थान हराउँदै जाँदा मानव–वन्यजन्तु द्वन्द्व बढ्ने जोखिम पनि उच्च रहेको जानकारहरु बताउँछन् ।
सरकारी स्तरमा वन संरक्षणका लागि विभिन्न ऐन,नियम र कार्यक्रमहरू भए पनि कार्यान्वयन पक्ष कमजोर देखिँदा वनजन्य पदार्थको चोरी तस्करी गर्नेहरुको मनोवल बढी रहेको छ।वन कार्यालय,स्थानीय तह र सुरक्षा निकायबीच प्रभावकारी समन्वय नहुँदा अवैध फडानी नियन्त्रण हुन सकि रहेको छैन।कतिपय अवस्थामा उजुरी परे पनि अनुसन्धान अगाडि नबढ्ने वा दोषी उम्किने गरेको जनगुनासो पनि बढेको छ।
सर्लाहीमा वन संरक्षणका लागि तत्काल कडा कदम चाल्नु आवश्यक रहेको जानकारहरु बताउँछन्।नियमित अनुगमन,दोषीमाथि कडा कारबाही,स्थानीय समुदायको सहभागिता र पारदर्शी वन व्यवस्थापन अनिवार्य रहेको उनीहरुको भनाई छ।साथै,चुरे संरक्षण कार्यक्रमलाई कागजमा मात्र सीमित नराखी व्यवहारमा प्रभावकारी बनाउनुपर्नेमा सरोकरावालाहरुले जोड दिएका छन् ।वन विनाश रोक्न अहिले नै कडा कदम नचालिए भविष्यमा सर्लाही गम्भीर वातावरणीय संकटमा फस्ने निश्चित छ।विकास र संरक्षणबीच सन्तुलन कायम गर्दै प्राकृतिक सम्पदाको रक्षा गर्नु साझा जिम्मेवारी हो।