उखु उत्पादक किसानहरुले आगामी क्रसिङ सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल एक हजार दुई सय भन्दा बढी तोक्न सरकारसँग माग गरेका छन्।चिनी र सक्खरको बजार मूल्य बढेको तथा उखु उत्पादनको लागत समेत बढेकाले गत वर्ष तोकिएको मूल्यमा उखु बिक्री गर्दा उखु उत्पादक किसानहरुलाई उचित प्रतिफल नहुने भएकाले उखुको मूल्य प्रतिक्विन्टल एक हजार दुई सय भन्दा बढी तोक्न उखु उत्पादक किसानहरुले सरकारसँग माग गरेका हुन ।
गत वर्ष सरकारले अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल रु छ सय ९० तोकेको थियो। त्यसबेला चिनीको बजार मूल्य प्रतिकेजी करिब रु ७० र सक्खरको मूल्य करिब रु ६० रहेको उखु उत्पादक किसानहरुको भनाइ छ।अहिले चिनीको मूल्य प्रतिकेजी रु एक सय २० र सक्खरको मूल्य एक सय ३० सम्म पुगेको छ ।
बजारमा चिनी तथा सक्खरको मूल्य बढ्दा त्यसको आधारमा उखुको मूल्य पनि बढाउनुपर्ने उखु उत्पादक किसान महासंघले जनाएको छ ।उत्पादन लागतमा भएको वृद्धिलाई समेत मूल्य निर्धारणको आधार बनाउनुपर्ने महासंघको भनाइ छ ।“उखु खेतीका लागि आवश्यक बिउ,मल,सिँचाइ तथा जोताई लगायत इन्धनदेखि मजदुरको ज्यालासम्म सबैको लागत बढेको,उखु उत्पादक किसानहरुको वास्तविक लागत र चिनीको बजार मूल्यलाई आधार बनाएर उखुको मूल्य निर्धारण गरिनुपर्छ।”मिलगेट उखु उत्पादक किसान संघले जनाएको छ ।
उखुको मूल्य निर्धारण गर्नुअघि सरकारले उखु उत्पादक किसानहरु र चिनी उद्योगीहरुका प्रतिनिधिसँग छलफल गर्न साथै उखु उत्पादक किसानहरुको उत्पादन लागत र उद्योगको अवस्था बारे अध्ययन गरेर क्रसिङ सिजन सुरु हुनुअघि नै मूल्य तोक्न संघले माग गरेको छ ।
खेतदेखि उद्योगसम्म उखु पुर्याउदा सम्म उखु उत्पादक किसानहरुको खर्च बढ्दै गएको र उखु रोप्नुअघि खेत चार–पाँच पटकसम्म जोत्नुपर्दा लागत समेत बढेको साथै बिउ रोपाईं, मल, सिंचाइ,गोडमेल,मजदुरको ज्वाला,कटान र ढुवानीमा खर्च हरेक वर्ष बढ्ने तर उखु उत्पादक किसानहरुले उत्पादन गरेको चिजवस्तुको मुल्य नबढ्ने हुँदा उखु उत्पादक किसानहरु मारमा परेका जानकारहरु बताउँछन्।उनीहरुका अनुसार“उखु बिक्रीका लागि उद्योगसम्म पुर्याउँदा हजार रुपैयाँसम्म खर्च हुने अवस्था छ ।गत वर्षको तुलनामा खेतीका लागि आवश्यक सामग्रीको मूल्य बढेकाले उखुको मूल्य पनि बढाउनुपर्छ।”
उखु उत्पादक किसानहरुको मागसँगै चिनी उद्योगको लागत र सञ्चालनको अवस्था पनि मूल्य निर्धारणमा समेटिनुपर्ने उद्योगीहरुले बताएका छन्।आगामी क्रसिङ सिजन सुरु हुनुअघि नै सरकारले उखुको मूल्य निर्धारण गर्नुपर्ने चिनी उत्पादक महासंघका महासचिव तथा इन्दुशंकर चिनी उद्योग हरिवनका सञ्चालक राजेश केडियाले बताए।उनका अनुसार उखु उत्पादक किसानहरुको उत्पादन लागत र उद्योगले चिनी उत्पादन गर्दा व्यहोर्नुपर्ने लागत तथा सञ्चालन सम्बन्धी समस्याको अध्ययन गरेर सन्तुलित मूल्य निर्धारण गर्नुपर्छ ।
उखु उत्पादक किसान र उद्योग दुवैको समस्या बुझेर सरकारले मूल्य निर्धारण गर्न उद्योगीहरुले अनुरोध गरेका छन्।उनीहरुका अनुसार क्रसिङ सिजन सुरु भएपछि उखुको मूल्य निर्धारण गर्ने परम्पराले उखु उत्पादक किसानहरु र उद्योग दुवैलाई अन्योलमा पार्दै आएको छ।त्यसैले सरकारले उखु उत्पादक किसानहरु र उद्योगी दुवै पक्षसँग छलफल गरी समयमै मूल्य तोक्न आवश्यक रहेको जानकारहरु बताउँछन् ।
उखुको मूल्य निर्धारणका विषयमा उखु उत्पादक किसानहरुले उत्पादन लागत र चिनी, सक्खरको बजार मूल्यलाई मुख्य आधार बनाउनुपर्ने माग गरेका छन्।उद्योगीहरूले भने उखु उत्पादक किसानहरुको लागतसँगै उद्योग सञ्चालन र चिनी उत्पादनको लागतलाई पनि समेटेर मूल्य निर्धारण गर्नुपर्ने बताएका छन् ।