सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न स्थानमा पछिल्लो समय घरधनी नभएको मौका छोपी ताल्चा फोडी लगातार चोरीका घटनाहरु बढेपछि प्रहरीले सक्रियता देखाउँदा चोरी गर्ने गिरोह पक्राउ परेको छ।लालबन्दी नगरपालिका क्षेत्रका विभिन्न स्थानमा लागातार चोरीका घटनाहरु बढेपछि प्रहरी टोलीले सूक्ष्म अनुसन्धान तथा निगरानी गर्दै चोरीका गरगहना खरिद बिक्रीमा संलग्न व्यक्तिहरूको पहिचान गरेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार लालबन्दी नगरपालिका १० घरभई लालबन्दी नगरपालिका ७ स्थित रहेको आर.के.ज्वेलर्सका सञ्चालक अन्दाजी वर्ष ४२ का रमेश विक र लालबन्दी नगरपालिका ६ स्थित साईरा ज्वेलर्सका सञ्चालक अन्दाजी वर्ष ३१ का कुमार वि.कले सुनको बिल भरपाई नभएका गरगहना खरिद गरेको विशेष सूचनाका आधारमा उनीहरूलाई निगरानीमा राखी सोधपुछ गरिएको हो ।
सोधपुछका क्रममा धनकौल गाउँपालिका ६ घर भई हाल लालबन्दी नगरपालिका ७ मा डेरा गरी बस्ने विदेशी साहकी श्रीमती अन्दाजी वर्ष ३५ की पिंकी देवी साहले उक्त गरगहना बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।त्यसपछि उनलाई नियन्त्रणमा लिई कोठा खानतलासी गर्दा दराज लकरबाट सुन जस्तै देखिने पहेँलो धातुको तिलहरी एक थान, टप दुई थान,मंगलसूत्र एक थान, औँठी एक थान, बाला एक थान, आठ थान गेडी तथा नगद रु एक लाख दुई हजार पाँच सय ६० बरामद गरिएको सर्लाही प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बरामद गरिएका गरगहना पीडितहरूमार्फत सनाखत गराउँदा चोरी भएको पुष्टि भएपछि मुख्य चोरी गर्ने व्यक्ति,बिक्रीमा संलग्न व्यक्ति तथा खरिदकर्ताहरूलाई नियन्त्रणमा लिईएको हो ।
यसका साथै थप अनुसन्धानका क्रममा महोत्तरीको औराही गाउँपालिका २ बस्ने अन्दाजी वर्ष २४ का रविन महतो समेत चोरी कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ।उनको घरबाट सुन जस्तै देखिने झुम्का दुई थान,टप दुई थान,औँठी एक थान,छड्के तिलहरी एक थान,हार्ड नेक्लेस एक थान, ल्यापटप एक थान तथा चोरीमा प्रयोग भएका औजार पाँच थान बरामद गरिएको प्रहरीले जनाएको छ।