एउटै घरबाट तीन जनाको नाम सिफारिस पछि सर्लाही कांग्रेसमा विवाद

184 Shares

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस सर्लाहीले उम्मेदवार सिफारिस गर्दा एउटै घरबाट तीनजनाको नाम सिफारिस गरेको रहस्य बाहिरिएको छ।चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी नेपाली कांग्रेस सर्लाहीले एउटै परिवारका तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको पाइएको हो ।
स्रोतका अनुसार नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति एवम निवर्तमान मन्त्री तथा प्रदेश सभा सदस्य विरेन्द्र प्रसाद सिंह र उनका भतिजा सुधिर कुमार सिंहलाई प्रत्यक्ष तर्फ तथा सुधिरकी आमा बेबी सिन्हाको नाम समानुपातिकतर्फ गरी एउटै घरका तीनजनाको नाम सिफारिस गरिएको पाइएको हो ।उक्त सिफारिस पार्टीको स्पष्ट मापदण्ड र केन्द्रीय निर्देशन विपरीत भएको भन्दै नेपाली कांग्रेसभित्रै व्यापक असन्तुष्टि समेत बढेको छ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंसिर १८ गते जारी गरेको परिपत्रमा प्रदेश सभामा बहाल रहेका नेताहरूलाई प्रतिनिधि सभामा उम्मेदवार नबनाउन निर्देशन दिएका भएपनि उक्त निर्देशनलाई बेवास्ता गर्दै वर्तमान प्रदेश सभा सदस्य सिंहको नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको छ ।
त्यस्तै,प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएका सुधिरको कानुन बमोजिम उमेर नपुगेको पाइएको छ ।नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ को मंसिर २३ गते बसेको बैठकले यी नामहरू केन्द्रमा सिफारिस गरेपछि पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको कांग्रेसका एक नेताले बताए ।उनका अनुसार सम्भावित विरोधलाई मध्यनजर गर्दै सिफारिसको सम्पूर्ण सूची गोप्य राखिएको छ।पछि पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएपछि मात्रै सिफारिस सूची बाहिरीएको हो ।
यता,निर्णयप्रति आपत्ति जनाउँदै कांग्रेस महासमिति सदस्य डा.राजेश्वर सिंह कुशवाहाले केन्द्रीय समितिमा निवेदन दर्ता गराएका छन्। उनले आफूले पनि प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदवारीको दाबी पेश गरेको भए पनि केन्द्रीय निर्णयको उल्लंघन गर्दै नाटकीय शैलीमा सिफारिस गरिएको आरोप लगाएका छन्।डा. कुशवाहाले उक्त बैठकको निर्णय बदर गरी आफ्नो उम्मेदवारी प्रस्तावलाई मान्यता दिन माग गरेका छन्।तर केन्द्रले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा सर्लाहीबाट बेबी सिन्हाको नाम समावेश नभएको खुलेको छ ।
यता,नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीलाई कमलामाई मिडिया प्रा.लिले नेपाली कांग्रेस सर्लाहीले एउटै घरबाट तीन जनाको नाम सिफारिस गरेको हो ? भनि सोध्दा उनले आफु पारिवारिक जमघटमा रहेका कारण यो विषयमा पछि कुरा गर्ने बताए । जसबाट अझैँ पनि उक्त विषय लुकाउने काम भएको प्रष्ट हुन्छ ।

सम्बन्धित समाचार