मरिणमा गाउँपालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु

255 Shares

सिन्धुलीको मरिण गाउँपालिकामा गाउँपालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद,मरिण गाउँपालिकाको सान,खेलकुद हाम्रो पहिचान”भन्ने नाराको साथ गाउँपालिका स्तरीय छैटौँ अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको गाउँपालिका अध्यक्ष विमर्श मोक्ता (प्रख्यात) ले जानकारी दिए ।
उनका अनुसार मरिण गाउँपालिका ७ स्थित रंगशालामा मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा सुरु भएको प्रतियोगितामा सिन्धुली क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले उद्घाटन गरेका छन् ।
प्रतियोगिता उद्धघाटन गर्दै निवर्तमान प्रतिनिधि सभा सदस्य दाहालले खेलक्षेत्रको विकासले शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा समेत मजबुत बन्ने बताए।उनले व्यक्तिको वृद्धि विकास संगै पालिका,जिल्ला र राष्ट्रकै इज्जत र शानलाई उच्च राख्न सहयोग पुग्ने बताउँदै प्रतियोगितामा कसैले जित्ने र कसैले जिताउन मद्धत पु¥याउने बताए ।
प्रतियोगिता उद्धघाटन कार्यक्रममा बोल्दै निवर्तमान प्रतिनिधि सभा सदस्य  दाहालले खेल क्षेत्रमा भने जतिको लगानी गर्न नसकेपनि मरिण गाउँपालिकाले गरेको लगनी जिल्लामै उत्कृष्ठ रहेको चर्चा समेत गरे ।मरिण गाउँपालिकाले वार्षिक रु ४० लाख बजेटको व्यवस्था गरी खेल क्षेत्रमा लगानी गर्दै आएको गाउँपालिकाकी उपाअध्क्ष बिमला माझीले बताईन् ।उनले यस्ता प्रतियोगिता युवा र समाजको लागि उत्सव भएको चर्चा गर्दै गाउँपालिकाले निरन्तर रुपमा अध्यक्ष रनिङ शिल्ड प्रयोगिताको आयोजना गर्दै आएको बताईन् ।
मरिण गाउँपालिकाका सात वटै वडाका खेलाडीहरुको सहभागितामा आयोजना गरिएको प्रतियोगिताका अलावा खेलक्षेत्रको विकासका लागी खेलमैदान,तालिम,खेल सामाग्री हस्तान्तरण, अध्यक्ष,उपाध्यक्ष कप,राष्ट्रपति रनिङ शिल्ड र वडा कप लगायतका विभिन्न प्रतियोगिताहरु गर्दै आएका मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम खत्रीले बताए ।उनका अनुसार प्रतियोगितामा पुरुष तथा महिला फुटबल,भलिवल सहित ब्याडमिण्टन र क्रिकेट लगायतका विधामा प्रतिस्पर्धा हुने छ ।
पुरुष फुटबलका लागि १० वटा टिम दर्ता भएका छन् भने महिला फुटबल प्रतियोगिताका लागी सात,महिला र पुरुष भलिवल प्रतिस्पर्धाका लागि सात/सात वटा टिम,क्रिकेटका लागि चार वटा टिम र ब्याडमिण्टन प्रतिपर्धाका लागि पाँच वटा टिम सहभागि छन् ।माघ ६ गते मंगलबारसम्म संचालन हुने प्रतियोगिता अन्तरगत फुटबल तर्फ विजयी टिमलाई रु ४०/४० हजार नगद सहित शिल्ड,मेडल र प्रमाण–पत्र र उपविजेता टिमले नगद रु २०/२० हजार सहित शिल्ड,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै भलिबल तर्फको विजेता समुहले नगद रु १५/१५ हजार सहित शिल्ड,मेडल र प्रमाण–पत्र पाउनेछन भने उपविजेता समुहले नगद रु १०/१० हजार सहित शिल्ड,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
क्रिकेट तर्फ विजेता समुहले नगद रु १५ हजार र उपविजेता समुहले नगद रु १० हजार र ब्याडमिन्टन तर्फका विजेता समुहले नगद सात हजार र उपविजेता समुहले नगद रु चार हजार सहित शिल्ड,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता संचालनको लागि मरिण गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ ।

सम्बन्धित समाचार