संघीय लोकतान्त्रिक मोर्चा चुनावकै मुखमा आएर औचित्यहीन

169 Shares

मधेश केन्द्रीत दलहरु निर्वाचनको मुखैमा आएर फेरी तितरवितर हुने अवस्थामा पुगेका छन् । निर्वाचनमा मिलेर जाने वाचा गरेका मधेश केन्द्रित दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चा चुनावकै मुखमा आएर औचित्यहीन बनेको हो ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल,महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल,राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल,सीके राउत नेतृत्वको जनमत पार्टी,रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, वृषेशचन्द्र लाल अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) र हृदेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी मिलेर २०८१ चैत्र २१ गते संविधान संशोधन लगायत विभिन्न २६ बुँदे उद्देश्यसहित मोर्चा घोषणा गरेका थिए।
२०८२ मंसिर ६ गते मोर्चाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा मिलेर जाने निर्णय पनि गरेका थिए।तर,पुस २७ मा भएको लोसपा,तमलोपा र जनता प्रगतिशील पार्टीको जसपा नेपालसँगको एकीकरण पछि मोर्चामा धाँजा फाट्न थाल्यो। माघ ४ सम्म पनि मोर्चामा आबद्ध दलहरू सहमतिमै मनोनयन दर्ता गराउनेमा एकमत भएपनि माघ ६ गते आफ्नै निर्णय विपरीत मोर्चामा आबद्ध दलहरूले एक अर्काविरुद्ध अझ अध्यक्षलाई नै चुनौती दिने गरी उम्मेदवारी दिएपछि मधेश केन्द्रित दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चा औचित्यहीन बनेको हो ।
जसपा नेपालका अध्यक्ष यादव जसरी पनि सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न चाहने तर,२०७९ को निर्वाचनमा आफ्ना अध्यक्ष राउतले जितेका भन्दै जनमत पार्टीले सिट नछाड्ने अडान लियो।२०७९ को निर्वाचनमा सोही क्षेत्रमा राउत ३५ हजार ४२ मत प्राप्त गरेर विजयी हुँदा यादवले १६ हजार नौ सय ७९ मत मात्र ल्याएका थिए। यही कारण मधेश केन्द्रित दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चा विघटनको संघारमा पुग्यो ।दुवै पक्षबीच कुरा नमिलेपछि अन्ततःजसपाले जनमतका अध्यक्ष राउतविरुद्ध पूर्वमन्त्री उमेश कुमार यादवलाई उम्मेदवार बनायो।२०७४ को निर्वाचनमा यादवलाई उपेन्द्रले पराजित गरेका थिए ।
यसरी सप्तरी क्षेत्र नम्बर २ मा एक अर्काविरुद्ध उम्मेदवारी दिएसँगै मोर्चाको औचित्य सकिएको नेताहरूको बुझाइ छ।यहाँ जसपा र जनमत मात्र आमनेसामने नभई मोर्चाकै अर्को दल राष्ट्रिय मुक्ति पार्टीले पनि अनिश अन्सारीलाई उम्मेदवार बनाएको छ।जनमतका राउतलाई जसपाले “चेकमेट”दिएजस्तै जनमतले पनि जसपा अध्यक्ष यादवलाई “चेकमेट”दिएको छ।सप्तरी क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका यादव विरुद्ध जनमत पार्टीले सुरेन्द्र शर्मालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय मुक्ति पार्टीले गजेन्द्र कुमार मण्डललाई उम्मेदवार बनाएको छ ।
यता,सर्लाही क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोविरुद्ध जसपाले भरत चौधरीलाई उम्मेदवार बनाएको छ भने जनमतले विपिन कापरलाई उम्मेदवार बनाएको छ । सर्लाही क्षेत्र नम्बर २ मा २०७९ को निर्वाचनमा महिन्द्र राय यादवसँग महतो पराजित भएका थिए। मोर्चामा आबद्ध दलहरूबीच भत्किएको चुनावी गठबन्धनबारे प्रश्न गर्दा “अहिले पनि समय छ। हुन सक्छ,पार्टीका फस्र्टम्यान विरुद्ध उठाइएको उम्मेदवारी फिर्ता होला।नेताहरूबीच छलफल चल्दै होला,यस विषयमा मलाई अरू केही थाहा छैन।”मोर्चाका एक नेताले बताए ।
बढी उम्मेदवारी दिँदा राष्ट्रिय दल हुइन्छ भन्ने सोचका कारण पनि तालमेल हुन नसकेको मोर्चाका नेताहरुको बुझाइ छ।जसपा नेपालले मधेसका ३२ वटै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।निर्वाचनमा साझा उम्मेदवार उठाउन मोर्चा असफल हुनुमा जसपा नेपाल दोषी रहेको मुक्ति पार्टीका महासचिव अनिल महासेठको आरोप छ।उनका अनुसार जसपा नेपालले सबै ठाउँमा उम्मेदवारी दिने भएपछि अरूले पनि मनोनयन दर्ता गराएका हुन ।
“मोर्चा बनाएर जाँदा निर्वाचनमा फाइदा नै हुन्थ्यो, विगतको अभ्यासले समेत देखाएको छ। तर,यसमा कुनै पनि दलले चासो र रुचि देखाएनन्।”मोर्चाका एक नेताले बताए ।राष्ट्रिय मुक्ति पार्टीले नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह जाँतो लिएर अशोक राईको नेतृत्वमा रहेको जसपासँग मिलेर मधेसका ३२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।
यता,निर्वाचनमा सबैले आ आफ्नै विचार लिएर जाने भएकाले छुट्टाछुट्टै चुनावमा जाँदा नेतृत्व विकाससँगै संगठन विस्तार समेत हुने भएकाले तालमेल हुन नसकेको जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहले बताए।यसपटक नेपाली कांग्रेस,नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले समेत तालमेल नगरेकाले आफूहरूलाई पनि तालमेलको दबाब नभएको उनको भनाइ छ।
मधेश केन्द्रित दलहरू मोर्चा बनाएर जाँदा मधेशको मत विभाजित नहुने र मोर्चामा आबद्ध दलहरूलाई नै फाइदा पुग्ने विगतमा देखिएको थियो।तर,फाइदाको बेला मिल्ने,अरू बेला फुट्न पनि नहिचकिचाउने परिपाटीले मधेश केन्द्रित दलको छवि र जनाधार दुवै कमजोर भइरहेको छ।
तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले २०६४ मा मधेस आन्दोलन सुरु गर्दा राजेन्द्र नेतृत्वको सद्भावना पार्टीसँग मिलेर मधेसी मोर्चा बनाएका थिए।पछि,त्यसमा महन्थ नेतृत्वको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी पनि सामेल भएको थियो।त्यसपछि मोर्चाको नाम “संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा”राखिएको थियो।तर,सत्ता खिचातानीका कारण यो मोर्चा पनि विघटित भएको थियो।यसअघि २०७९ को निर्वाचनमा जसपा नेपालले एमालेसँग तालमेल गर्दा लोसपासहितका दलले नेपाली कांग्रेससँगको गठबन्धन गरेका थिए। 

सम्बन्धित समाचार