निर्वाचन प्रहरीलाई सर्लाहीका ८ ठाउँबाट तालिम सुरु

213 Shares

सर्लाहीमा निर्वाचन प्रहरीका लागि आईतबारदेखि आठ ठाउँबाट एकैसाथ तालिम प्रदान गर्न सुरु गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही सहित मातहतका सातवटा इलाका प्रहरी कार्यालयहरुबाट एकसाथ निर्वाचन प्रहरीको तालिम प्रारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्लामा छ हजार दुई सय ६५ जनाले आवेदन दिएकोमा गृह मन्त्रालयले तोकेर पठाएको कोटा अनुसार तीन हजार एक जना पुरुष र नौ सय २५ जना महिला गरी तीन हजार नौ सय २६ जना निर्वाचन प्रहरी छनौट भएका छन् ।
छनौट भएका निर्वाचन प्रहरीलाई पायक पर्ने गरी जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही र मातहतका सात वटा इलाका प्रहरी कार्यालयहरुमा खटाइएको छ।जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका अनुसार जिल्लामा छनौट भएका निर्वाचन प्रहरीको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही तथा लालबन्दी,हरिवन,केशरगन्ज,हरिपुर,बरहथवा,चक्रघट्टा र गडहीयामा रहेका इलाका प्रहरी कार्यालयहरुमा तालिम सुरु भएको हो ।
निर्वाचन प्रहरीलाई घर पायक पर्ने गरी नजिकको इलाका प्रहरी कार्यालयहरुमा हाजिर भएर तालिम गर्ने व्यवस्था मिलाइएको छ।निर्वाचन प्रहरीले घरबाटै तालिममा सामेल हुने र जिम्मेवारी अनुसारको काम गर्न भ्याउने गरी व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार