मधेश प्रदेशमा शान्ति सुरक्षा कायम गर्न कुनै सम्झौता र कुनै पनि प्रकारको लापरबाही सह्य नहुने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रहरी प्रमुख एवम प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले बताए ।मधेश प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुलाई नीति निर्देशन तथा सम्बोधन गर्दै तस्करी तथा अपराध नियन्त्रण,अनुसन्धानमा तीव्रता र नागरिक मैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्न प्रहरी कर्मचारी तथा मातहतका युनिट प्रमुखहरूलाई डिआईजी थपलियाले स्पष्ट निर्देशन दिएका छन् ।
“प्रहरी संगठन जनताको सुरक्षाका लागि हो,त्यसैले सेवामा ढिलासुस्ती,गैर जिम्मेवारी र अनुशासनहीनता कुनै हालतमा स्वीकार्य हुँदैन,”उनले भने,कार्यसम्पादनमा कमजोरी देखिए कडा कारबाही हुने समेत डिआइृजी थपलियाले चेतावनी दिए ।
डिआईजी थपलियाले विशेषगरी मधेशका सीमा क्षेत्रमा हुने अपराध,लागूऔषध कारोबार, तस्करी तथा सामाजिक अपराध नियन्त्रणमा सक्रियता बढाउन निर्देशन दिएका छन्।साथै प्रहरी कर्मचारीहरूलाई जिम्मेवारी प्रति इमान्दार,अनुशासित र परिणाममुखी बन्न उनले आग्रह गरे ।उनले सूचना संकलन,समन्वय र प्रविधिको प्रयोगमार्फत अपराध नियन्त्रणलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै प्रत्येक युनिटले आफ्नो कार्यक्षेत्रमा देखिने गरी परिणाम दिनुपर्ने समेत बताए ।
डिआईजी थपलियाका अनुसार, मधेस प्रदेशका विभिन्न जिल्लाबाट ४० जना बिचौलियालाई नियन्त्रणमा लिएर उनीहरु विरुद्ध मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ।सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने,अवैध लाभ लिन खोज्ने तथा सर्वसाधारणलाई दुःख दिने गतिविधिमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कारबाही गरिएको उनले बताए ।“बिचौलियाको गलत अभ्यासलाई नियन्त्रण नगरेसम्म सुशासन कायम हुन नसक्ने उनको दाबी छ ।
प्रहरीले पछिल्लो समय बिचौलियामार्फत हुने ठगी,सिफारिसमा चलखेल तथा अवैध रकम असुली जस्ता गतिविधिमा निगरानी बढाएको छ।यसका साथै यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने अभियानलाई अझ कडाइका साथ अगाडि बढाइने उनको भनाइ छ ।
उनले नागरिकलाई पनि यस्ता अवैध गतिविधिबाट सचेत रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरे भने मधेश प्रदेशका आठ वटा जिल्लामा सक्रिय बिचौलियाविरुद्ध प्रहरीले कडा कारबाही थालेको समेत दोहोर्याए।तर मधेश प्रदेश भन्दा बाहिर दरवन्दी रहेका र मधेश प्रदेशमा काजमा अटेका प्रहरी कर्मचारीहरुका कारण मधेशमा प्रहरी संगठन बद्नाम भएको गुनासाहरु आउने गरेका छन् ।