सर्लाहीका चारै क्षेत्रमा चुनावी माहोल तात्यो,४ जना निर्वाचित हुन १ सय ३१ जनाको उम्मेदवारी

206 Shares

नौ वटा गाउँपालिका र ११ वटा नगरपालिका गरी २० वटा पालिका रहेको सर्लाहीलाई चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन र आठ वटा प्रदेश सभा सदस्य निर्वाचनमा विभाजन गरिएको छ।जसमा इश्वरपुर नगरपालिका,लालबन्दी नगरपालिका,हरिपुर नगरपालिका र कविलासी नगरपालिका सहित चन्द्रनगर गाउँपालिकाका ४९ वटा वडा मिलाएर क्षेत्र नम्बर १, हरिपुर्वा नगरपालिका, इश्वरपुर नगरपालिकाको एउटा वडा,कविलासी नगरपालिका,मलंगवा नगरपालिका सहित ब्रम्हपुरी गाउँपालिका,पर्सा गाउँपालिका, कौडेना गाउँपालिका र विष्णु गाउँपालिकाका ४९ वटा वडा मिलाएर क्षेत्र नम्बर २ बनाईएको छ ।
त्यस्तै,हरिवन नगरपालिका,बागमती नगरपालिका,हरिपुर नगरपालिकाको एउटा वडा,बरहथवा नगरपालिका,कविलासी नगरपालिका सहित चक्रघट्टा गाउँपालिका र बसबरिया गाउँपालिकाका ५१ वटा वडा मिलाएर क्षेत्र नम्बर ३ बनाईएको छ भने बरहथवा नगरपालिका,गोडैता नगरपालिका,बलरा नगरपालिका सहित बसबरिया गाउँपालिका,चक्रघट्टा गाउँपालिका,रामनगर गाउँपालिका,विष्णु गाउँपालिका र धनकौल गाउँपालिकाका ५१ वटा वडा मिलाएर सर्लाही क्षेत्र नम्बर ४ बनाईएको छ ।
विगतदेखि नै राजनीतिक चर्चाकै केन्द्रमा रहँदै आएको सर्लाही निर्वाचन क्षेत्र नं ४ यस पटक झन चर्चाको शिखरमा छ ।नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन कुमार थापा र सोही क्षेत्रबाट पटक पटक निर्वाचित भएका हाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार बनेका डा.अमरेश कुमार सिंह चुनावी मैदानमा उत्र्रिदा सर्लाही क्षेत्र नम्बर ४ ले थप चर्चा बटुलेको हो ।कुनैपनि हालतमा जित्नै पर्ने दवाव तथा नैतिकतामा कांग्रेस सभापति थापा र डा.सिंह दुवै उम्मेदवार आफ्नो अभियान सञ्चालन गरी रहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा निवर्तमान गृह मन्त्री नारायण काजी श्रेष्ठ र नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा निवर्तमान रक्षा मन्त्री हरि प्रसाद उप्रेती सहित यस अघि तत्कालीन नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार बनेर पराजय बेहोरेका तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार बनेका नरेन्द्र साह चुनावी मैदानमा होमिदा सर्लाही क्षेत्र नम्बर ३ मा पनि चर्चाको शिखर मै छ।सोही क्षेत्रबाट निर्वाचित भएका एमालेका उप्रेती र सोही क्षेत्रबाट उनै उप्रेतीसंग पराजय बेहोरेका साह आम्ने साम्ने हुँदा गृह मन्त्री भएको समयमा भ्रष्टाचारीहरुको सात्तो खाएका निस्कलंक उम्मेदवार श्रेष्ठ मैदानमा होमिएपछि सर्लाही क्षेत्र नम्बर ३ ले यस पटक चर्चा पाएको छ।यस अघि प्रदेश सभा सदस्यमा तत्कालीन माओवादी केन्द्रबाट बागी उम्मेदवार बनाई जिताएका बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा सहित बरहथवा नगरपालिकाका निवर्तमान नगर प्रमुख देवानन्द महत्तो, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी सहितको साथ पाएर चुनाव लड्न सर्लाही आएका नेकपाका नेता श्रेष्ठले आफु गृह मन्त्री हुँदा गरेका कामको यहाँका मतदातालाई जानकारी मात्रै गराएपनि चुनाव जित्न उनलाई सहज हुने आंकलन भई रहेको समयमा एमालेका उप्रेती र रास्वपाका साहले आफुहरु स्थानीय उम्मेदवार हौँ भन्दै चुनावी गतिविधिहरु बढाई रहेका छन् ।
त्यस्तै,नेपाली कांग्रेस सर्लाहीका सभापति डा.सरोज कुमार राय यादव,नेकपाका नेता एवम निवर्तमान मन्त्री महिन्द्र राय यादव र राष्ट्रिय मुक्ती पार्टीका केन्द्रीय अध्यक्ष एवम निवर्तमान मन्त्री राजेन्द्र महत्तो चुनावी मैदानमा आम्ने साम्ने हुँदा सर्लाही क्षेत्र नम्बर २ ले पनि चर्चा पाएको छ।सोही क्षेत्रबाट निर्वाचित भएका नेकपाका महिन्द्र र उनीसंग पराजय बेहोरेका राष्ट्रिय मुक्ती पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र फेरीपनि चुनावी मैदानमा होमिएका छन्।भने युवाहरुको साथ पाएका टेस्टेड उम्मेदवार कांग्रेसका डा.सरोज आफुलाई सक्षम र योग्य उम्मेदवार रहेको दाबी गर्दै आफ्ना चुनावी गतिविधिहरु बढाई रहेका छन्।पटक पटक सांसद भएका र मन्त्री भएका महिन्द्र र राजेन्द्रसंग दिक्दार भएका सर्लाही २ का मतदाताहरुले यस पटक आफ्नो प्रतिनिधि कसरी छान्छन भन्ने हेर्न बाँकी छ ।
यता,सर्लाही क्षेत्र नम्बर १ मा तीन जना निवर्तमान सांसदहरु चुनावी मैदानमा हुँदा व्यापारीक घरानाबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार बनेकी नितिम कार्की(भण्डारी)ले मैदानमा होमिदा सर्लाहीका कुनैपनि क्षेत्रको मतपरिणाम कस्तो आउँछ भनेर अहिले आकंलन गर्न सक्ने अवस्था छ ।
सर्लाही १ बाटै निर्वाचित भएका नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठ,नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का प्रमोद साह र लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का राम प्रकाश चौधरीको त्रीपक्षीय भिड्न्त हुँदा त्यसको फाईदा उठाउन रास्वपाकी नितिमा मैदानमा छिन्।देशभर “घण्टी घण्टी”को हल्ला चलि रहेको समयमा भदौरे भेल झैँ कतै फाईदा उठाउन सकिन्छ की भनेर सर्लाही क्षेत्र नम्बर १ मा नितिमा,क्षेत्र नम्बर ३ मा साह र क्षेत्र नम्बर ४ मा डा.सिंह सोही पार्टीबाट मैदानमा उत्र्रिदा कुनैपनि हालतमा उनीहरुलाई पराजय बेर्हाेने वातावरण बनाउन आफुलाई राजनीतिक बाघ सम्झीने कांग्रेस,एमाले र नेकपाका नेता तथा कार्यकर्ताहरु र उम्मेदवारहरु घुँडा धसेर लागि परेका छन्।तर,युवाका लागि अवसर सिर्जना हुनुपर्ने,शिक्षा र स्वास्थ्य सम्बन्धी सुविधा सहज र सरल हुनुपर्ने मतदाताहरुको माग रहेको छ।चुनावी मैदानमा आउँदा सुनौला अक्षरले लेखिएका घोषणा पत्रहरुलाई अव सर्लाही सहित देशभरका मतदाताहरुले व्यवहारत लागु गरेको हेर्न चाहन्छन्।भाषण गरेर तथा राम्रा सपना देखाएर चुनाव जितिन्छ भन्ने भ्रममा रहेका उम्मेदवाहरुलाई देशभरका मतदाताहरुले राम्रो सवक सिकाउने आंकलन गरिएको छ।सर्लाहीका निर्वाचन क्षेत्रमा प्रायः उस्तै उस्तै चुनावी मुद्दा र मतदाताका अपेक्षा देखिन्छन्।
सर्लाहीका चार वटा निर्वाचन क्षेत्रका तीन सय १२ मतदानस्थल र छ सय २८ मतदान केन्द्रहरुका मतदाताहरुले चार जना जनप्रतिनिधि बनाउन मतदान गर्नुपर्नेमा सर्लाही क्षेत्र नम्बर १ मा १९ जना विभिन्न दलहरुबाट र नौ जना स्वतन्त्र गरी २८ जना उम्मेदवार,सर्लाही क्षेत्र नम्बर २ मा १४ जना विभिन्न दलबाट र १७ जना स्वतन्त्र गरी ३१ जना,सर्लाही क्षेत्र नम्बर ३ मा १५ जना विभिन्न दलबाट र १९ जना स्वतन्त्र गरी ३४ जना तथा सर्लाही क्षेत्र नम्बर ४ मा १३ जना विभिन्न दलहरुबाट र २५ जना स्वतन्त्र गरी कुल एक सय ३१ जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् ।

सम्बन्धित समाचार