जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चैत्र महिनामा करिब १० लाख राजश्व संकलन गरेको छ।मधेश सहित पूर्वी नेपाललाई संघीय राजधानीसंग जोड्ने वि.पी.राजमार्ग,पुर्वी नेपाललाई संघीय राजधानीसंग जोड्ने मदन भण्डारी र मध्य पाहाडी राजमार्ग मुख्य मार्गको रुपमा रहेको सिन्धुलीले चैत्र महिनामा नौ सय ८८ वटा २४ घण्टे पुर्जी जारी गर्दा नौ सय ७० वटा कार्बाही गरेर र रु नौ लाख ६३ हजार पाँच सय राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम प्रहरी निरीक्षक मोहम्मद कलीम अन्जुमले जानकारी दिए ।
उनका अनुसार चैत्र महिनामा चार वटा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १५ जना घाईते भएका छन् । माद्यक पदार्थ सेवन गरी सवारी चलाएका १७ जना चालकलाई कार्बाही गरिएको साथै चार सय १० वटा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
तीनवटा मुख्य राजमार्गका साथै अन्य भित्रि सडक खण्डहरुमा पछिल्लो समय सिन्धुली ट्राफिकले आफ्ना गतिविधिहरुलाई तिब्र रुपमा सञ्चालन गरि रहेको छ भने भिमान तथा खसर्काेटमा एक सय १० जना चालकहरुमा लागु पदार्थ सेवन चेकजाँच गर्दा पाँच जना चालकमा पोजिटिभ देखिएको थियो ।
फागुन महिनामा सात सय ४४ वटा कार्बाही गर्दा सात लाख ३३ हजार राजश्व संकलन गरेको सिन्धुली ट्राफिकले चैत्र महिनामा राजश्व तथा कार्बाही बढाएको छ भने दुर्घटना हुने तथा मृत्यु हुनेको संख्या पनि फागुन भन्दा चैत्रमा कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
फागनुमा १६ वटा माद्यक पदार्थ सेवाका कार्बाही,सवारी दुर्घटनामा चार जनाको मृत्यु र ३७ जना घाईते भएकामा चैत्र महिनामा एक जनाको मात्रै मृत्यु भएको छ भने १५ जना घाईते हुनुले ट्राफिक सचेतना तथा ट्राफिक प्रहरीको सक्रियतालाई पुष्टि गरेको छ ।