अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सागरनाथ वन विकास परियोजना क्षेत्रमा वन पैदावर (नदीजन्य पदार्थ)उत्खन्नबाट प्राप्त राजस्व हिनामिना गरेको अभियोगमा सागरनाथ वन विकास परियोजनाका आठ जना सहित दुई जना जनप्रतिनिधिहरु र तीनजना कर्मचारीहरुमाथि आरोप पत्र दायर गरेको छ ।

परियोजना व्यवस्थापनका क्रममा वन क्षेत्रबाट उत्खन्न गरिएकोे ४७ लाख दुई सय ८५ दशमलव १७ घनमिटर नदीजन्य पदार्थ बिक्रीबाट प्राप्त रोयल्टी असुल उपर नगरी भ्रष्टाचार जन्य कार्यमा परियोजनाका तत्कालीन प्रमुख विशाल घिमिरे,निमित्त प्रमुखहरु देवेश मणी त्रिपाठी,राम किशोर यादव,प्रेमीलाल प्रसाद साह कलवार,जितेन्द्र कर्माचार्य सहित सहायक वन अधिकृत चन्द्र कुमारी श्रेष्ठ र शिवेन्द्र प्रसाद चौधरी तथा भोला यादव सहित बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा,उप प्रमुख लिला कुमारी मोक्तान,प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल,लेखाअधिकृत विश्वराज पोखरेल र इन्जिनियर सागर पौडेल माथि ५८ करोड ६२ लाख १४ हजार छ सय ५८ रुपैँया ९९ पैसा माग दाबी गर्दै आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।उनका अनुसार बागमती नगरपालिका ४ र १२ स्थित सागरनाथ वन विकास परियोजनाको ब्लक नम्बर ६,८,११ र १२ स्थित प्रस्तावित रेल्वे लाईन भन्दा पश्चिम बागमती नदी ड्याम भन्दा पूर्व पुरानो बुढी बागमतीको बहाव क्षेत्रको नदी उकास जग्गा करिब एक सय ५० बिगाहमा बहुउद्धेशीय माछा पोखरी निर्माण गर्ने निर्णय गरे गराएको अनुसन्धान गर्ने क्रममा बागमती नगरपालिका र परियोजनाका पदाधिकारी एवम कर्मचारीहरुको मिलेमतोमा रोयल्टी बापत असुल गर्नुपर्ने राजस्व हिनामिना गरेको पुष्टि भएपछि कसुरमा संलग्न विरुद्ध बिगो,कैद र जरिवानाको मागदाबी लिएर आरोप पत्र दायर गरिएको हो ।साविक वन नियमावली,२०५१ तथा तथा प्रचलित वन नियमावली, २०७९ र वन पैदावार विकास समिति(गठन)आदेश,२०३३ विपरीत राजस्व रकम हिनामिना भएको अभियोग पत्रमा उल्लेख गरिएको छ।सागरनाथ वन विकास परियोजना अन्तर्गत सर्लाहीको मुर्तिया वन व्यवस्थापन शाखालाई वन क्षेत्र संरक्षण तथा व्यवस्थापनका लागि हस्तान्तरण भएको र तोकिएको वन क्षेत्र सागरनाथ वन विकास परियोजनाले संरक्षण एवम व्यवस्थापन गर्दै आइरहे पनि उत्खन्नबाट प्राप्त राजस्व नगरपालिका र परियोजनाकै पदाधिकारी एवम कर्मचारी मिलेर हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।

सर्लाहीको पूर्व-पश्चिम राजमार्गदेखि दक्षिण सागरनाथ वन क्षेत्रको करिब ८० हेक्टर वन क्षेत्र तथा मुर्तिया वन क्षेत्र समेत गरी जम्मा १३ हजार तीन सय ८० हेक्टर वन क्षेत्र वन पैदावार विकास समितिलाई हस्तान्तरण गरिएको थियो ।

सागरनाथ वन विकास परियोजना भित्रको वनक्षेत्रमा पोखरी निर्माण तथा ढुंगा,गिट्टी,बालुवा संकलन/उत्खन्न गर्न नमिल्ने भए पनि मिलेमतोमा उत्खन्न गर्न बागमती नगरपालिकाले २०७५ चैत २ मा बागमती नगरपालिका ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजना अन्तर्गत मुर्तिया वन व्यवस्थापन शाखाबाट हाल रेल्वे लाइन भन्दा पश्चिम बागमती ड्यामभन्दा पूर्व पुरानो बुढी बागमतीको बहाव क्षेत्रमा नदी उकास जग्गामा पोखरी निर्माण गर्न वन क्षेत्र उत्खन्न गर्न स्वीकृति दिइएको अनुसन्धानबाट खुलेको छ। करिब एक सय ५० बिगाह जग्गामा बहुउद्देश्यीय माछा पोखरी निर्माण गर्ने निर्णय गराएपछि वन क्षेत्रको जमिनबाट उत्खन्न भएको नदीजन्य पदार्थ बिक्रीबाट प्राप्त राजस्व हिनामिना गरिएको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारले यसअघि भरत ताल निर्माणको आवरणमा भएको अनियमितता र सम्पत्ति शुद्धीकरणका छुट्टाछुट्टै कसुरमा दायर गरेको मुद्दामा नगर प्रमुख थापा दोषी ठहर भइसकेका छन्।अहिले अख्तियारले वन क्षेत्र उत्खन्न गरी भरत ताल निर्माण गरेकामा थप पुरक मुद्दामा नगर प्रमुख थापा र वन विकास परियोजनाका प्रमुख एवम कर्मचारीहरुसहितलाई प्रतिवादी बनाएको छ ।

हिनामिना प्रकरणमा प्रतिवादी विरुद्ध ५८ करोड ६२ लाख १४ हजार छ सय ५८ रुपैयाँ ९९ पैसा बिगो कायम गरी बिगो बमोजिम जरिवाना,हिनामिना भएको रकम असुलउपर र कैद सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता न्यौपानेले हस्ताक्षर गरि जारि एको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रतिवादी सबैलाई जनही बिगो मागदाबी गरी कैद र बिगो बमोजिम जरिवाना र हिनामिना भएको रकम असुलउपर हुनुपर्ने मागदाबी आरोप पत्रमा लिइएको छ ।